
बैंकिङ खबर/ देशका अन्य स्थानको तुलनामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै महंगी बढेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ७.६८ प्रतिशतको मूल्यवृद्धि देखिएको हो । सो अवधिमा तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा काठमाडौं उपत्यकामा मुद्रास्फीति ७.३९ प्रतिशत रहेको थियो । त्यस्तै, उक्त अवधिमा तराई, पहाड र हिमालमा क्रमशः ८.१५ प्रतिशत, ७.८९ प्रतिशत र ८.२१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य राखेको भएतापनि वैशाख मसान्तसम्ममा, वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको सो अवधिमा उक्त दर ७.८७ प्रतिशत बराबर रहेको थियो ।
आर्थिक वर्ष २०७९/८० को वैशाखमा खाद्य तथा पेय पदार्थ समूहमा मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहमा मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त दर क्रमशः ७.१३ प्रतिशत र ८.४५ प्रतिशत रहेको थियो ।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २६.६१ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ ।
त्यस्तै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.६५ प्रतिशत र फर्निसिब तथा घरायसी उपकरणहरुको ८.२७ प्रतिशतले बढेको छ ।
भारतमा मूल्य वृद्धि नकारात्मक
भारतकाे मूल्य वृद्धि नकारात्मक छ । अघिल्लो महिना भन्दा यो महिना सामानकाे मूल्य सस्तिएकाे छ । भारतको थोक मुद्रास्फीति अप्रिलमा ० दशमलव ९२ प्रतिशतले घटेपछि मे महिनामा सरदर मुद्रास्फीति ३ दशमलव ४८ प्रतिशतले घटेको छ । त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयले बुधबार जारी गरेको आधिकारिक तथ्याङ्कमा यस्तो देखिएको हो ।
भारतमा थोक मुद्रास्फीति दर घटेको यो लगातार तेस्रो महिना हो । ‘मे महिनामा मुद्रास्फीति दरमा गिरावट मुख्यतया खनिज तेल, आधारभूत धातु, खाद्य उत्पादन, कपडा, गैर-खाद्य वस्तु, कच्चा पेट्रोलियम र प्राकृतिक ग्यासको मूल्यमा आएको गिरावटले योगदान गरेको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भारत सरकारले दुई दिनअघि सार्वजनिक गरेको तथ्याङ्कले देशको खुद्रा मुद्रास्फीति दर अप्रिलमा ४ दशमलव ७ प्रतिशत र मार्चमा ५ दशमलव ७ प्रतिशत रहेकोमा ४ दशमलव २५ प्रतिशतमा झरेको देखाएको छ ।



