June 12th, 2023

स्वीकृति नपाएको धितोपत्रमा लगानी नगर्न बोर्डको आग्रह

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले बोर्डबाट स्वीकृति प्राप्त नगरेका निष्काशन तथा योजनाहरुमा सहभागी नहुन सर्वसाधारण लगानीकर्ताहरुलाई आह्वान गरेको छ । मनकामना दरौदी हाइड्रोपावर कम्पनी लिमिटेडले सूचना प्रकाशित गरी सर्वसाधारणहरुलाई लक्षित गरी सेयरमा लगानीका लागि आह्वान गरेको थियो ।

उक्त विज्ञापनप्रति गम्भीर ध्यानाकर्षण भएको बोर्डले जनाएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ (१) मा संगठित संस्थाले धितोपत्र निष्कासन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने र दफा २९(१) मा संगठित संस्थाले एक पटकमा ५० जना भन्दाबढी व्यक्तिहरुलाई धितोपत्र बिक्री गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्कासन गर्नुपर्ने भन्ने व्यवस्था रहेको जनाएको छ ।

त्यस विपरीत कम्पनीले विज्ञापन प्रकाशित गर्दै धितोपत्रमा लगानी गर्न आवान गरेकोले बोर्ड सचेत गराएको जनाएको छ । बोर्डको स्वीकृतिविना धितोपत्रको निष्कासन गर्ने कार्य गैरकानुनी भएको भन्दै त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने बताएको छ ।

प्रचलित कानुन बमोजिम स्वीकृति नपाएका त्यस्ता निष्कासनमा लगानीकर्तालाई लक्षित गरी कुनै पनि व्यक्ति वा संस्थाले सञ्चारका माध्यम मार्फत त्यस्तो सूचना तथा विज्ञापन प्रकाशन तथा सम्प्रेषण नगर्न/नगराउन समेत बोर्डले आह्वान गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]