June 7th, 2023

स्वीकृति प्राप्त नगरेका निष्कासन र योजनामा सहभागी नहुन बोर्डको आग्रह

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले स्वीकृति प्राप्त गरेका निष्कासन तथा योजनामा सहभागी नहुन लगानीकर्ताहरुलाई आग्रह गरेको छ। धितोपत्र बोर्डले बुधबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २४ गते  सूचना प्रकाशित गरी सर्वसाधारणलाई लक्षित गरी सेयरमा लगानीका लागि आह्वान गरेको बिज्ञापनप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै धितोपत्र बोर्डले यस्तो आग्रह गरेको हो।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २७ (१) मा संगठित संस्थाले आफूले निष्कासन गर्ने धितोपत्र निष्कासन गर्नुअघि धितोपत्र बोर्डमा दर्ता गराउनुपर्ने र दफा २९(१) मा संगठित संस्थाले एकपटकमा ५० जना भन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री गर्ने भएमा त्यस्तो धितोपत्र बिक्रीवितरणका लागि लागि सार्वजनिक निष्कासन गर्नुपर्ने भन्ने व्यवस्था रहेको छ।

धितोपत्र बोर्डको स्वीकृतिबिना नेपालमा धितोपत्रको निष्कासन गर्ने कार्य गैरकानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुनी व्यवस्थाबाट लगानीकर्ताको हित संरक्षण नहुने सूचनामा उल्लेख छ। ‘त्यसैले कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्कासनमा लगानी गर्दा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको निष्कासनमा मात्र लगानी गर्न सर्वसाधारण लगानीकर्तालाई अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]