
बैंकिङ खबर/पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बीमाको हिस्सा घट्दै गएको छ । जलविद्युतलगायत अरू क्षेत्रका कम्पनीको सूचीकरण बढ्दै गएकाले बैंक तथा वित्तीय संस्था र बीमाको हिस्सा घटेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार गत चैत अन्त्यसम्म पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६३.८ प्रतिशत रहेको तथ्यांक छ ।
दोस्रो बजारमा सूचीकृत सेयरको पुँजीकरणका आधारमा यो हिस्सा निकालिएको हो । आर्थिक वर्ष ०७५÷७६ मा पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रको हिस्सा करिब ७२ प्रतिशत थियो ।
गत चैतसम्म सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६३.८ प्रतिशत रहेको नेप्सेले जनाएको छ ।
सोही अवधिमा जलविद्युत् कम्पनीहरूको यस्तो हिस्सा १४.४ प्रतिशत, लगानी कम्पनीहरूको ६.९, उत्पादन तथा प्रशोधन कम्पनीहरूको हिस्सा ३.९ प्रतिशत छ । होटलको हिस्सा २.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.५ प्रतिशत छ ।
०७९ चैतसम्ममा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ४८ पुगेको छ । सूचीकृत कम्पनीमध्ये १ सय ४१ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । ६९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ६ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका छन् । आर्थिक वर्ष ०७५÷७६ को असारसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २ सय १५ थियो । सूचीकृत कम्पनीमध्ये १ सय ५४ वटा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी थिए । उक्त अवधिमा १९ वटा उत्पादन र प्रशोधन उद्योग, ३० वटा जलविद्युत् कम्पनी, ४-४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका कम्पनी सूचीकृत थिए ।
गत चैतसम्म सूचीकृत ७ अर्ब १९ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब ९ अर्ब २७ करोड छ । आर्थिक वर्ष ०७९-८० को नौ महिनामा मात्र कुल २ खर्ब ७१ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्, जसअनुसार १ खर्ब ६५ अर्ब ५६ करोड बराबरको साधारण सेयर, ३५ अर्बको विकास ऋणपत्र, २९ अर्ब १९ करोडको डिबेन्चर, ३१ अर्ब ८४ करोडको बोनस सेयर, ५ अर्ब ४९ करोडको म्युचुअल फन्ड र ४ अर्ब ११ करोडको हकप्रद सेयर गरी २ खर्ब ७१ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।
चालु आर्थिक वर्षको नौ महिनासम्मा नेपाल धितोपत्र बोर्डले कुल ३० अर्ब ३५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासन (आईपीओ) का लागि अनुमति दिएको छ । यसअनुसार ११ अर्ब २० करोड बराबरको डिबेन्चर, १२ अर्ब १५ करोडको म्युचुअल फन्ड, ६ अर्ब ५ करोडको साधारण सेयर र ९५ करोडको हकप्रद सेयर निष्कासन भएको छ ।




