
बैंकिङ खबर/ गैर आवासीय नेपालीलाई शेयर बजारमा भित्र्याउन बोर्डले छुट्टै नियमावली बनाउने भएको छ । नियमावली बनाउन बोर्डले समिति गठन गरेको छ। नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने बोर्ड सञ्चालक सुजन कुमार काफ्लेको संयोजकत्वमा समिति गठन भएको बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
२०७९ चैत १९ गते बसेको सञ्चालक बोर्डको निर्णयबाट उक्त समिति गठन गरिएको हो। समितिका अन्य सदस्यहरूमा सञ्चालक बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल रहेका छन्।
धितोपत्र दोस्रो बजार कारोबारमा विदेशमा रहेका गैर आवासीय नेपालीलाई समेत भित्र्याई पूँजी बजार मार्फत राष्ट्रिय पूँजी निर्माण र परिचालनमा थप योगदान गरी समग्र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील तथा चलायमान बनाउन उपयुक्त हुने भन्दै बोर्डले उक्त समिति गठन गरेको जनाएको छ । जसले धितोपत्रको दोस्रो बजार कारोबारमा विदेशमा रहेका गैर आवासीय नेपालीलाई भित्र्याउन तथा उनीहरूको लगानीलाई धितोपत्र दोस्रो बजारमा प्रोत्साहन गर्नेछ ।
गठित समितिले प्रचलित कानुन बमोजिम आवश्यक व्यवस्था गर्नका लागि अध्ययन प्रतिवेदन सहित नियमावलीको मस्यौदा तयार गर्नेछ । उक्त समितिले तीन महिना भित्र गैर आवासीय नेपालीलाई नेपालको पूँजी बजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी सञ्चालक बोर्डमा पेस गर्नेछ। यसका अलावा उक्त समितिले उक्त नियमावली कार्यान्वयनका हुनसक्ने कठिनाइ पहिचान गरी सोका लागि आवश्यक कार्यविधि समेत सिफारिस गर्नेछ।
यसरी प्रस्तावित नियमावलीको कार्यान्वयन पश्चात् धितोपत्र बजारमा लगानीकर्ताको सङ्ख्या वृद्धि भई तरलता समेत अभिवृद्धि हुने, धितोपत्र बजारको माग पक्ष बलियो हुने, बजारको अस्थिरता कम भई मूल्य जोखिम कम हुने लगायतका सुधार पूँजी बजारमा हुने अपेक्षा बोर्डले गरेको छ ।