बैंकिङ खबर/ नयाँ स्टक एक्सचेञ्जका लागि आइतबार नेसनल स्टक एक्सचेञ्ज अफ नेपालले पनि आवेदन दिएको छ । नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता तेजप्रसाद सापकोटाका अनुसार बोर्डले दिएको समय सीमा भित्र स्टक एक्सचेन्जको लागि दुई वटा र कमोडिटीज एक्सचेन्जको लागि दुई वटा आवेदन परेको छ ।
बोर्डले एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडिटिज एक्सचेञ्ज सञ्चालन अनुमतिको लागि आवेदन माग गरेको हो ।
आइतबार स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जको लागि निवेदन दिने अन्तिम दिन हो । अन्तिम दिन पारेर नेसनल स्टक एक्सचेन्जले निवेदन दिएको हो । यसअघि शुक्रबार हिमालयन स्टक एक्सचेन्जले आवेदन दिएको थियो।
हिमालयन स्टक एक्सचेन्जमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरु पशुपति मुरारका, भवानी राणा, शेखर गोल्छासहित हिमालयन रिइन्स्योरेन्स कम्पनीका सञ्चालकहरुको प्रमुख स्वामित्व रहेको छ ।
बोर्डका अनुसार कमोडिटिज एक्सचेन्ज सञ्चालनका लागि मल्टी डेरिभेटिभ एक्सचेन्ज (मेक्स) र मल्टी एसेट्स एन्ड डेरिभिटेभिज एक्सचेन्जले आवेदन दिएको छ ।