
बैंकिङ खबर/थ्रीस्टार हाइड्रोपावर लिमिटेडले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्ने छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता सेयर जारी गर्नेछ।
स्थानीयका लागि जारी आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले खरिद आवेदन दिन सक्नेछन्।
यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि जारी हुने जारी पुँजीको १५ प्रतिशतले हुन आउने ७ करोड ३८ लाख ७५ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ७३ लाख ८७ हजार ५०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल ७३ हजार ८७५ कित्ता जारी गरिनेछ।
स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन्। अधिकतममा भने स्थानीयले ४ लाख ९२ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ७३ हजार ८७५ कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेकाले वैशाख २५ गतेसम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द पनि छिटोमा वैशाख २५ गते र ढिलोमा जेठ ९ गते बैंकिङ समयपछि बन्द हुनेछ।