
व्यवसायी कुशुम लामालाई सुप्रबल जनसेवाश्री पुरस्कार प्रदान गरिएको छ । लामो समय वित्तीय क्षेत्रमा आवद्ध लामालाई गणतन्त्र दिवसको अवसरमा घोषित सुप्रबल जनसेवाश्री’ सम्मान राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ बर्षको दिन प्रदान ‘गरेका हुन्। लामाले आम नागरिकलाई डिजिटल क्षेत्रमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएकी छन् । त्यसका साथै अपाङमैत्री डिजिटल सेवा तथा महिलाहरुलाई डिजिटलमा सक्रिय बनाउन लामाको महत्वपूर्ण हात छ । डिजिटल व्यवसायमा समेत उनी अग्रपंक्तिमा छन् । डिजिटल विज्ञका रुपमा समेत अग्रसर लामालाई सूचना संचार तथा प्रविधि मन्त्रालयले यसअगाडि ‘आइसिटी अवार्ड’ प्रदान गरेको थियो । आइसिटी क्षेत्रबाट यो सम्मान पाउने उनी पहिलो महिला हुन् ।
को हुन् कुशम लामा ?
नेपालको सूचना तथा सञ्चार प्रविधिमा परिचित नाम हो कुशुम लामा । कर्पोरेट क्षेत्रमा रहेर डिजिटाइजेसन र प्रविधिमा उनले लामो समय काम गरिसकेकी छन् । प्रभु ग्रुपको भाइस प्रेसिडेनटका रुपमा समेत काम गरेकी लामाले नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२१ लगायत थुप्रै सम्मानहरु पाइसकेकी छन् । लामा हाल प्रभु इन्सुरेन्समा अध्यक्ष छन् भने प्रभु म्यानेजमेन्टमा पूर्व कार्यकारी अध्यक्ष, मेडिफ्लो सिस्टममा अध्यक्ष, प्रभु बैंक, प्रभु टेक्नोलोजी, स्मार्ट च्वाइस टेक्नोलोजी, फिन एक्सेसलगायतमा निर्देशकका रुपमा काम गरिसकेकी छन् ।
सन् २०१३ मा फिन एक्सेस मार्फत मोवाइल मनि अपरेटरको कन्सेप्टमा आएको हेल्लो पैसादेखि अस्पताललाई प्रविधि मैत्री बनाउने मेडिफ्लो सिस्टमसम्म उनले नेतृत्व गरेकी छन् । मोबाइल पेमेन्ट सर्भिस प्रोभाइडर प्रभु पेले स्मार्टफोन नभएका तर बारफोन प्रयोगकर्तालाई समेत पहिलोपटक डिजिटल पेमेन्टको पहुँचमा जोड्न सफल छ । यसैगरी, प्रभु म्यानेजमेन्ट मार्फत डिजिटल फाइनान्स सर्भिस, कोर एकाउन्टिङ सफ्टवेयर, रेमिट्यान्स र सहकारी सफ्टवेयरको विकास र प्रयोगले लाखौ मानिसलाई सहज जीवनशैलीमा रुपान्तरण गरेको छ ।
विदेशमा बसेका नेपालीलाई रेमिट्यान्सको डिजिटल नेटवर्कदेखि ग्रामिण क्षेत्रका सहकारीमार्फत गरिब, किसानको जीवनस्तर उकास्न उनले महत्वपूर्ण योगदान दिएकी छन् । उनी भारतबाट नेपालमा रेमिट्यान्स पठाउँदा नेपाली नागरिकताबाटै पठाउन मिल्ने व्यबस्था गर्ने व्यक्ति पनि हुन् । यसैगरी, धेरै विद्यालयहरुको लागि ई–शिक्षा नामक सफ्टवेयर निशुल्क रुपमा प्रदान गरेकी कुशुम लामाको प्रभु बैंक लगायतका धेरै संस्थाहरुमा आइसिटी पोलिसी बनाउने र कार्यान्वयनमा ल्याउन सहयोग छ । लामाको नेतृत्वमा डिजिटल फाइनान्स साक्षरताको विभिन्न अभियानहरु सञ्चालनमा छन् ।




