बैंकिङ खबर/ २०७९ मा शेयर बजारमा उतार चढापकाबीच निराशा छायो । करिब एक वर्षपछि चैतको अन्तिम हप्ता मात्रै नेप्से सूचक उच्च अंकले बढ्यो । यस दिन नेप्से सूचक ४.९३ प्रतिशत अर्थात ९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेर बन्द भएको हो ।
गत असार १२ गते नेप्से सूचक ५.१० प्रतिशत अर्थात ९४.९२ अंकले बढेर १९५६.९८ विन्दुमा पुगेको थियो । त्यस पश्चात करिब १० महिनामा बुधबार सोही अंकको हाराहारीमा बढेको हो । त्यस अघि बैशाख ११ गते पनि नेप्से सूचक ४.११ प्रतिशत अर्थात ९५.५१ अंकले बढेर २४२०.९६ विन्दुमा पुगेको थियो । त्यस दिन २ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यसपछि भने शेयर बजारमा उल्लेख्य रुपमा बढ्न सकेन ।
शेयर बजारमा करोडौं लगानी डुब्न थालेपछि शेयरबजार लगानीकर्ताहरु आन्दोलनमै उत्रिए । सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुँदा शेयर बजारका सर्वसाधरण लगानीकर्ताहरुको करोडौं डुबेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए । बजार सुधारका विभिन्न १९ बुँदे माग राखेर असार १ गतेदेखि लगानीकर्ता तिलक कोइराला आमरण अनशन बसे । तर, उनको माग पूरा गर्न सरोकारवालाले खासै चासो दिएनन् ।
नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ । वर्ष २०७९ को अन्तिम दिन कारोबारमा नेप्से परिसूचक २९ दशमलव ०७ अङ्कले घटेर १ हजार नौ सय ३४ दशमलव ४७ अङ्कमा सीमित भयो ।
कारोबारमा विभिन्न कम्पनीमा ४९ लाख १३ हजार ७०२ कित्ता शेयर रु एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ दशमलव ७७ मा कारोबार भए । कारोबारमा भएका कम्पनीमध्ये आदर्श लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
साथै गुमाउने शीर्ष कम्पनीमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, धौलागिरि लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक र सिर्जनशिल लघुवित्त वित्तीय संस्था छन् । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी लिमिटेड, एनआईसी एशिया बैंक, नबिल बैंक र शिव श्री हाइड्रोपावर कम्पनी शीर्ष पाँचभित्र परेका छन् ।