प्रभु बैंक र यूकेएड सक्षमबिच दुर्गम भेगमा वित्तीय पहुँच विस्तार गर्नेसम्बन्धि सम्झौता भएको छ । प्रभु र सक्षम मिलेर मनाङ, रुकुम र अछाम जिल्लाका महिला, पिछडिएका र ग्रामीण तथा विपन्न वर्गका जनतालाई वित्तीय पहुँचमा ल्याउने भएका हुन् । नयाँ बैंकिङ शाखा र शाखारहित बैंकिङ सेवाका माध्यमबाट यी क्षेत्रका जनतालाई वित्तीय पहुँचमा समेट्न लागिएको हो ।
मध्य र सुदुपश्चिमका आधाभन्दा बढी जनसंख्या सहज वित्तीय पहुँचमा नरहेको तथ्यलाई मध्यनजर गर्दै सक्षमसँग मिलेर प्रभु बैंकले वित्तीय पहुँचमा रहेको असन्तुलनलाई कम गर्ने लक्ष्य लिएको छ । यस सम्झौताअनुसार, प्रभु बैंकले मनाङको चामे, रुकुमको मुसिकोट र अछामको कमल बजारमा बैंकिङ शाखा स्थापना गरी सञ्चालनमा ल्याउनेछ । साथै, यी जिल्लामा मोबाइल बैंकिङ र एटीएम सेवाको समेत सुरुवात गर्नेछ । यसबाहेक बैंकले मनाङको धारापानी, माथिल्लो मनाङ, ताल, ढुकुरपोखरी र पिसाङ ; रुकुमको रान्मा माइकोट, महत, पुआङ र काक्रि ; र अछामको ढकारी, ढुङ्गाचाल्ना, टुर्माखाँद, विनायक र पुन्यपाटामा गरी १५ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याउनेछ । प्रभु बैंकको यस कार्यमा सक्षमले प्राविधिक र वित्तीय सहयोग गर्नेछ ।
यसैबिच नेपाल राष्ट्र बैंक अन्तर्गत बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले मुलुकको सबैभन्दा दुर्गम भेगमा वित्तीय पहुँच पुर्याउने प्रभु बैंक र सक्षमको पहललाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । डीएफआईडी नेपालका प्राइभेट सेक्टर डेभलपमेन्ट एड्भाइजर रवि रायमाझिले प्रभु र सक्षमको यो कदमले दुर्गम भेगका विपन्न वर्गको वित्तीय पहुँच सुधारका लागि बरदान सावित हुने दाबी गरे ।
त्यस्तै, प्रभु बैंकका सीईओ अशोक शेरचनले ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याउन र प्रभु बैंकको सेवा विस्तार गर्न सहयोग गरेकोमा सक्षमलार्ई धन्यवाद ज्ञापन गरे । साथै, प्रभु बैंक सहरी र ग्रामीण दुबै भेगका जनतालाई सेवा दिन सँधै तयार रहेको बताए । यूकेएड सक्षमका टीम लिडर बलजीत बोहराले प्रभु र सक्षमको यो साझेदारी वित्तीय पहुँचभन्दा बाहिर रहेका नेपालीलाई वित्तीय पहुँचमा ल्याउन सफल हुने कुरामा विश्वास व्यक्त गरे ।