April 6th, 2023

दुई कम्पनीको आईपीओ खुल्यो

बैंकिङ खबर/ दुई कम्पनीको आईपीओ आजदेखि खुलेको छ । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ८८ हजार १०७ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। जसमध्ये १ लाख ८ हजार ८११ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीहरुका लागि सुरक्षित गरिएको शेयर बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले कुल १३ लाख ४६ हजार ९९३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा चैत २७ गते हुनेछ भने ढिलोमा २०८० वैशाख ७ गते हुनेछ।

यसैगरी रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आज (चैत २३ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो आईपीओमा खोटाङ्ग जिल्ला केपीलासगडी गा.पा. (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गा.वि.स.) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५६ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५६ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। स्थानिय बासिन्दाहरुले सो आईपीओमा अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा २ हजार ८०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा २०८० वैशाख ७ गते हुनेछ भने ढिलोमा वैशाख २२ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने वैशाख ७ गतेभित्र आवेदन दिनु पर्नेछ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]