
बैंकिङ खबर/ दोल्ती पावर कम्पनी लिमिटेडले चैत २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। लगानीकर्ताहरुले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा २०८० वैशाख ३ गते हुनेछ भने ढिलोमा वैशाख १२ गते हुनेछ ।
यस्तै ईङवा हाइड्रोपावर लिमिटेडले फागुन २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आवेदन दिने आज (चैत २० गते) अन्तिम दिन रहेको छ। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।




