
बैंकिङ खबर/ राष्ट्रपति रामचन्द्र पौडेलको अर्थविज्ञ सल्लाहकारमा डा.चिरञ्जीवी नेपाल नियुक्त भएका छन् । दुईदिनअघि निर्णय गरेर नेपाललाई अर्थविज्ञमा नियुक्त गरिएको हो ।
को हुन् डा.नेपाल ?
डा. नेपालको जन्म वि.स २०१९ सालमा पाल्पामा भएको थियो । उनले औपचारिक शिक्षा भने काठमाडौंमा लिएका हुन् । सन् १९९४ मा बनारस हिन्दु विश्वविद्यालयबाट श्रम र अर्थतन्त्रको सम्बन्धमा विद्यावारिधि गरेका नेपाल २८ वर्षदेखि प्राध्यापन पेसामा संलग्न थिए ।
उनले काठमाडौं विश्वविद्यालयका भिजिटिङ प्रोफेसर भएर ६ वर्ष बिताए । उनले २२ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराए । स्व.सुशिल कोईराला प्रधानमन्त्री हुँदा डा. आर्थिक सल्लाहकार बनेका थियो । सल्लाहकार रहेकै समयमा उनलाई नेपाल राष्ट्र बैंकको १६ औँ गभर्नर नियुक्त गरिएको थियो ।
राष्ट्र बैंकमा गभर्नर हुँदा डा. नेपालले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गराएका थिए भने बिग मर्जरको आरम्भकर्ता पनि उनी नै हुन् । अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार, अर्थ शास्त्रीहरूको संगठन नेपाल आर्थिक संघका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकार, आइटी पार्कको पहिलो प्रमुख, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक, नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष र विश्व बैंकको स्कुल सपोर्ट कार्यक्रमको संयोजकका रुपमा समेत उनले काम गरिसकेका छन्।
उनले धितोपत्र बोर्डमा रहँदा राम्रो काम गरेका थिए । उनी मिलेनियम च्यालेन्ज कोअपरेसनका प्रमुख अर्थशास्त्री भएका थिए । ५ वर्ष गभर्नरको कार्यकाल उनको उत्साहजनक थियो ।
सफल गभर्नर
२०७१ साल चैतमा तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले गभर्नरमा नियुक्त गरेका नेपालले राष्ट्र बैंकको गभर्नरका रूपमा आम अपेक्षाभन्दा धेरै काम गरेर देखाए। खासगरी वित्तीय स्थायित्वलाई सुदृढ गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरे।
बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि, ब्याजदरको स्थायित्वका लागि ब्याजदर करिडोर लागू , वित्तीय पहुँच विस्तार र भुक्तानी प्रणाली सुदृढीकरणमा उनले ठोस योगदान पुर्याए। उनले समयसीमा परिवर्तन नगरीकनै वित्तीय संस्थाको पुँजीवृद्धि गराए ।
उनको समयमा वित्तीय संस्था असफल भएका उदाहरण छैनन् । केहीलाई सचेत गराउने काम भयो। विगतमा जस्तो सीघ्र सुधारात्मक कारबाही (पीसीए) गर्नुपरेन। बरु समस्याग्रस्त वित्तीय संस्थामा नयाँ व्यवस्थापन भित्र्याउन राष्ट्र बैंकको नेतृत्वका रूपमा उनले सहयोग गरे। बैंक तथा वित्तीय संस्था रिजोलुसन एकाइले अधिकांश समस्याग्रस्त वित्तीय संस्था पुनस्र्थापित बनायो।
गभर्नर नेपालले मन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका अतिरिक्त दुईवटा नियमनकारी निकायको प्रमुखका रूपमा नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकमा काम गरे। धितोपत्र बोर्ड र राष्ट्र बैंक दुवै ठाउँमा उनी त्यही निकायमा २५औं वर्ष काम गरेकाहरूको उत्तराधिकारी (सक्सेसर) का रूपमा आए।
गभर्नर नेपालको कार्यकालमा मुद्रास्फितिले रेकर्ड बनायो। उनको कार्यकालमै मुलुकले निरन्तर उच्च आर्थिक वृद्धिदर पनि हासिल गर्यो। उच्च आर्थिक वृद्धिदरका लागि उनले सहयोगी मौद्रिक नीति तर्जुमा गरे।
उनको समयमा बासेल–३ कार्यान्वयनको पहल सुरु भएको छ। नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) लागू गर्ने, रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली लागू गर्न उनले अग्रसरता लिए।
कर्जा जोखिम न्यूनीकरणका लागि ठूलो ऋणको शाख मूल्यांकन र बैंकको ठूलो शाखाको पूर्ण लेखापरीक्षण गर्नुपर्ने व्यवस्थाका कारण उनी वित्तीय क्षेत्रले सम्झने गभर्नर बनेका थिए ।




