March 29th, 2023

भूगोल इनर्जी र रावा इनर्जीको आईपीओ खुल्दै

बैंकिङ खबर/ भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले यहि चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशतले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख ८८ हजार १०७ कित्ता आईपीओ जारी गर्नेछ ।

कुल कित्तामध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्कासन बन्द छिटोमा चैत २७ गते र ढिलोमा २०८० वैशाख ७ गते हुनेछ। भुगोल इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

यसैबीच रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले यही चैत २३ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँबराबरको १०० रुपैयाँ दरका २ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि जारी गर्नेछ। यसमा खोटाङ जिल्ला केपीलासगडी गापा (साबिक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविस) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसैगरी कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५६ लाख रुपैयाँबराबरको अर्थात् १०० रुपैयाँ अंकित दरका ५६ हजार कित्ता विदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्नेछ। यो आईपीओमा स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

अधिकतममा भने स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले २ हजार ८०० कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। यो आईपीओ स्थानीयका लागि निष्कासन बन्द छिटोमा २०८० वैशाख ७ गते र ढिलोमा वैशाख २२ गते बैंकिङ समयपछि हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने वैशाख ७ गतेभित्र आवेदन दिन पाउनेछन्।

स्थानीयले आयोजनास्थल, सेन्चुरी कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन्। उनीहरुले प्रभु क्यापिटलले निर्माण गरेको अनलाइनमा गई आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]