
बैंकिङ खबर/ दुई कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि फागुन ८ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
सोमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ७२ हजार २६ कित्ता तथा आयोजन प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी ३ बाहेक) का स्थानिय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। कम्पनीले प्रबर्धन गरिरहेको ३.७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.४१ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २५ वर्ष बाँकी रहेको छ।
यसैबीच दोल्ती पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि फागुन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
सोमध्ये अति प्रभावित क्षेत्र नौमुले र कालिका गा.वि.स मा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता, आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानिय बासिन्दाहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।




