२०७९ चैत्र ५ गते

अमेरिकामा दर्जनौं बैंकहरु समस्याग्रस्थः १ सय ८६ बैंक डुब्ने खतरामा

बैंकिङ खबर/अमेरिकामा वित्तीय क्षेत्रमा संकट देखिएको छ । केहि दिन अघि मात्रै अमेरिकाको ठूलोमध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गराएको थियो । यसलाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा हेरिएको छ । सन् २००८ मा वासिंटन म्युचअल टाट पल्टिएको घटनापछि यो सबैभन्दा ठूलो संकट भएको बताइएको छ । क्यालिफोर्नियामा मुख्यालय रहेको बैंक टाट पल्टिने अवस्थामा पुगेको नियामक निकायको भनाइ छ । नियामक निकायले सबै वचतकर्ताको पैसा सुरक्षित भएको बताएको छ ।

सिलिकन भ्याली बैंक बन्द भएको दुई दिनपछि राज्य नियामकहरूले अमेरिकाको न्यूयोर्क–आधारित सिग्नेचर बैंक पनि बन्द गरेको छ। अमेरिकी नियामकहरूले सम्भावित बैंकिङ संकट रोक्नका लागि भन्दै न्यूयोर्कस्थित सिग्नेचर बैंक बन्द गराएको हो । ट्रेजरी, फेडरल रिजर्भ, र एफडीआईसीले आइतबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै बैंक बन्द भएको घोषणा गरेको थियो ।

यूएस ट्रेजरी डिपार्टमेन्ट र अन्य बैंक नियामकहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै सिग्नेचर बैंकका सबै निक्षेपकर्ताहरूको रकम सुरक्षित रहने भन्दै बैक भएको घोषणा गरेका हुन्। यो अमेरिकी बैंकिङ इतिहासमा तेस्रो ठूलो असफलता हो ।
यी बैैंकसँगै अमेरिकामा दर्जनौ बैंकहरु समस्याग्रस्थ अवस्थामा पुगेको छ ।

अध्ययन भन्छ, ‘थप १८६ बैंक डुब्ने खतरामा’

अमेरिकामा थप १८६ बैंक डुब्ने खतरामा पुगेका छन् । सोसल साइन्स ई–रिसर्च नेटवर्कले गरेको एक अध्ययनले उक्त निष्कर्ष निकालेको हो । ब्याजदरमा भएको वृद्धि र असुरक्षित निक्षेपका कारण यी बैंकहरुको यस्तो अवस्था भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । अमेरिकामा बैंकिङ संकट शुरु भएपछि मानिसले साना बैंकबाट पैसा निकालेर ठूला बैंकमा राख्न थालेका छन्। ठूला बैंकमा जोखिम कम हुने उनीहरुको विश्वास छ। दुई दशकयता अमेरिकामा ५०० भन्दा बढी बैंक टाट पल्टेका छन्।