बैंकिङ खबर/ सिलिकन भ्याली बैंक बन्द गरेको दुई दिनपछि राज्य नियामकहरूले अमेरिकाको न्यूयोर्क–आधारित सिग्नेचर बैंक पनि बन्द गराएका छन्।
अमेरिकी नियामकहरूले आइतबार सम्भावित बैंकिङ संकट रोक्नका लागि भन्दै न्यूयोर्कस्थित सिग्नेचर बैंक बन्द गराएका हुन्।
ट्रेजरी, फेडरल रिजर्भ, र एफडीआईसीले आइतबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै बैंक बन्द भएको घोषणा गरेका हुन्। यूएस ट्रेजरी डिपार्टमेन्ट र अन्य बैंक नियामकहरूले आइतवार एक संयुक्त विज्ञप्ति जारी गर्दै सिग्नेचर बैंकका सबै निक्षेपकर्ताहरूको रकम सुरक्षित रहने भन्दै बैक भएको घोषणा गरेका हुन्। यो अमेरिकी बैंकिङ इतिहासमा तेस्रो ठूलो असफलता हो।
बैंकिङ नियामकहरूले सिग्नेचर बैंकका डिपोजिटकर्ताहरूलाई आफ्नो डिपोजिटहरूमा पूर्ण पहुँच हुने बताएको छ । अमेरिकी अधिकारीहरूका अनुसार सिलिकन भ्याली बैंकका ग्राहकहरूले सोमबारदेखिनै उनीहरूको निक्षेपहरूमा पहुँच पाउनेछन्। संघीय सरकारले टेक स्टार्टअप–केन्द्रित ऋणदाताको पतनबाट निक्षेपहरू कम गर्न र कुनै पनि व्यापक वित्तीय नतिजालाई रोक्नको लागि यस्तो घोषणा गरेको हो।
यसैबीच न्यूयोर्कका गभर्नर क्याथी होचुलले आइतबारको अमेरिकी सरकारको कदमले बैंकिङ प्रणालीको स्थिरतामा विश्वास बढेको बताएकी छन्। ‘यी बैंकहरूमा धेरै निक्षेपकर्ताहरू साना व्यवसायी हुन्, उनीहरूले अर्थतन्त्रलाई चलाइरहेका छन् र तिनीहरूको सफलता न्यूयोर्कको बलियो अर्थतन्त्रको लागि महत्वपूर्ण छ,’ उनले भनिन्।
सिग्नेचर बैंक क्रिप्टोकरेन्सी उद्योगमा लगानी गर्ने मुख्य बैंकमध्ये एक हो। धितोपत्र फाइलिङ अनुसार डिसेम्बर ३१ सम्म सिग्नेचर बैंकको कुल सम्पत्ति ११० दशमलव ४ बिलियन र कुल डिपोजिट ८८ दशमलव ६ बिलियन थियो।
सिग्नेचर बैंक न्यूयोर्क, कनेक्टिकट, क्यालिफोर्निया र नर्थ क्यारोलिना भरमा ३८ वटा निजी ग्राहक कार्यालयहरू भएको न्यूयोर्कमा आधारित वाणिज्य बैंक हो। यो बैंक सन् २००१ मा खोलिएको थियो।
यो सँगै अमेरिकामा पछिल्लो एक सातामा तीन वटा बैंक बन्द भएका छन्। शुक्रबार सिलिकन भ्याली बैंक बन्द हुनु अगाडि मार्च ९ मा सिल्भरगेट बैंक बन्द भएको थियो।
सरकार गुहार्दै निक्षेपकर्ता
सिलिकन भ्याली बैंक (एसभीबी) टाट पल्टिएपछि सिलिकन भ्याली र वित्त क्षेत्रका ठूला संस्थाहरुले संघीय सरकारसँग सर्वसाधारणको रकम जोगाउन सार्वजनिक रुपमै आह्वान गरिरहेका छन्।
उनीहरुले उक्त बैंकको सम्पत्ति र दायित्वको जिम्मा अर्को बैंकले लिएर भएपनि निक्षेपकर्ताहरुको रकम जोगाउन भनेका हुन्। बैंकको असफलतापछि फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआइसी) ले प्रति ग्राहक २ लाख ५० हजार डलरसम्मको मात्र कभरेज दिने जनाएको छ। एफडीआइसीले निक्षेपकर्ताहरूलाई सोमबारदेखि नै भुक्तान गर्न सुरु गर्नेछ। नियामकको नियन्त्रणमा अहिले ग्राहकहरुको झन्डै १७५ अर्ब डलर निक्षेप छ।
यो अमेरिकी आर्थिक इतिहासमा दोस्रो ठूलो घटना हो। जुन २००८ को वित्तीय संकटपछिको हाल बैंकिङ क्षेत्रलाई यो घटना सबैभन्दा ठूलो धक्का साबित भएको छ। तर नियामकका अनुसार डिसेम्बरसम्म, बैंकको निक्षेपको ९५ प्रतिशतभन्दा बढी रकम बीमा नगरिएको निक्षेप थियो। यी मध्ये धेरै निक्षेपकर्ताहरू स्टार्टअप हुन्। बैंक टाट पल्टिएसंगै यी स्टार्टअपहरूलाई आफ्ना कर्मचारीलाई यसै महिनाको तलब दिन नसक्ने अवस्थामा पु¥याउनेछ।
फलस्वरूप, यसले टेक उद्योगमा गत वर्षदेखि चलिरहेको कर्मचारी कटौतीलाई निरन्तरता दिँदै असफलताको एक विस्तृत लहर फैलाउन सक्छ। यस बाहेक एसभीबी डुबेपछि विशेष गरी २५० अर्ब डलरभन्दा कम निक्षेप भएका बैंकहरूप्रति लगानीकर्ताहरूको विश्वास पनि डग्मगाएको छ।




