January 3rd, 2023

अन्योलमा भारु सटहीः नेपाली बैंकमा रहेको झण्डै सवा ८ करोड भारु खोस्टा बन्दै

बैंकिङ खबर/ भारतको सर्वोच्च अदालतले सन् २०१६ मा पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध गर्ने सरकारको निर्णय सही भएको फैसला गरेको छ । नोट प्रतिबन्धविरुद्ध परेका रिटमाथि भारतीय केन्द्र सरकार, रिजर्ब बैंक र रिट दायरकर्ताहरूको बहस सुनेपछि गत साता (७ डिसेम्बर २०२२) मा अदालतले उक्त फैसला सुनाएको हो ।

भारतीय सर्वोच्च अदालतका न्यायाधीश एस नजिरको अध्यक्षतामा पाँच न्यायाधीश सम्मिलित इजलासले बहुमतका आधारमा सन् २०१६ को नोट प्रतिबन्धको निर्णय सही भएको निष्कर्ष निकालेको हो । न्यायाधीश नागरत्नाले भने यसमा फरक मत राखेकी छन् । नोट प्रतिबन्धको निर्णय २४ घण्टामै भएको, सरकारले शक्तिको दुरुपयोग गरेको, नोट प्रतिबन्धको प्रस्ताव गर्दा रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले स्वतन्त्र रूपमा काम गर्न नपाएको, ९८ प्रतिशत नोट प्रणालीमै फर्किएकाले कालोधन नियन्त्रण गर्ने उद्देश्य पूरा नभएकोलगायत तर्कसहित फैसलामा उनले फरक मत राखेकी हुन् । नोट प्रतिबन्धको निर्णय गैरकानुनी भएको उनको धारणा छ ।

सर्वोच्चको फैसलापछि नोट प्रतिबन्ध गर्ने भारत सरकारको निर्णय कानुनी रूपमा पनि थप बलियो भएको छ । सो निर्णयमा भारत सरकार बलियो भए पनि नेपालमा रहेको प्रतिबन्धित भारु नोट सटहीसम्बन्धी विषय भने थप अन्योलपूर्ण बनेको छ ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले नोट सटहीका विषयमा आफूहरूले पटकपटक कुरा उठाउँदै आएको र आउँदा दिनमा पनि त्यसलाई निरन्तरता दिइने बताउनुभयो ।

‘भारतकै स्वीकृतिअनुसार नेपालले ५ सय र हजार दरका नोट चलनचल्तीमा ल्याएकाले अहिले सटही गर्दैनौं भन्न पाइँदैन,’ उहाँले भन्नुभयो, ‘नोट सटही सम्बन्धमा हाम्रो अडान हिजो पनि थियो, आज पनि छ । भोलि पनि रहन्छ ।’

भारत सरकारले नोट प्रतिबन्ध गरेको करिब ६ वर्ष भइसकेको छ । तर नेपालको बैंकिङ प्रणालीमा रहेको पुराना ५ सय र हजार दरका भारु नोट साट्नेतर्फ चासो देखाएको छैन । पछिल्लो पटक पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि भारु सटहीसम्बन्धी एजेन्डा उठेको थियो । त्यसमा पनि भारतका तर्फबाट सम्बोधन नभएको राष्ट्र बैंकले बताएको छ ।

नेपालमा कति छ भारु नोट ?

राष्ट्र बैंकका अनुसार हाल नेपालको वित्तीय प्रणालीमा करिब ८ करोड १० लाख ८ सय रुपैयाँ बराबरका ५ सय र हजार दरका भारु नोट छन् । ६८ हजार १ सय ४८ वटा पाँच सय दरका ३ करोड ४० लाख ७३ हजार ५ सय भारु राष्ट्र बैंकमा छ । १६ हजार ५ सय ५२ वटा एक हजार दरका १ करोड ६५ लाख ५२ हजारसहित कुल ५ करोड ६ लाख २५ हजार ५ सय भारु राष्ट्र बैंकमा छ ।

भारत सरकारले भारु ५ सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाउँदा नेपाली वित्तीय प्रणालीमा करिब ७ करोड ८५ लाख भारु नोट रहेको बताएको थियो । तर सबै निकायसँग रहेको भारु संकलन गर्दा करिब ५ करोड भारु जम्मा भएको हो ।

यसबीचमा सम्बन्धित निकायले विभिन्न माध्यममार्फत केही भारु सटही गरिसकेका छन् । यसबाहेक सर्वसाधारणसँग भएको प्रतिबन्धित भारुको यकिन तथ्यांक राष्ट्र बैंकसँग पनि छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]