
बैंकिङ खबर/सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई निष्कासन भएको छ । कम्पनीले जारी पूँजीको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेकोमा जसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पुँजी २ अर्ब १० करोडको ५ प्रतिशतले हुन आउने १० लाख ५० हजार कित्ता तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सर्वसाधारणमा छुट्टाएको २१ लाख कित्ताको १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता आईपीओ जारी गरेको हो। ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि २१ लाख कित्ताको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर निष्कासन गरी बाँकी रहने १८ लाख ९० हजार कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणमा जारी हुनेछ ।
आयोजना प्रभाविततर्फ अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नम्बर १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता छुट्टाइएको छ । यस्तै आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नम्बर २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन भएको छ ।
कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आईपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाकालागि छुट्टाइएको सेयर पुस ५ गतेसम्म सबै बिक्री नभएको खण्डमा भने पुस २० गतेसम्म म्याद लम्बिनेछ । दुबैतर्फ लगानीकर्ताले न्यूनतम १० देखि ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारमा रहेका नेपालीहरुले नेपाल मेरो सेयरको मोबाइल एप, धितोपत्र बोर्डबाट सि–आश्वा सेवाको अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाहरुले भने कास्कीमा रहेको एनसीसी बैंकको न्यूरोड शाखा, कुमारी बैंकको कहुनखोला, माछापुच्छ्रे बैंकको मादी, सानिमा बैंकको न्यूरोड पोखरा शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।