
बैंकिङ खबर/ पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । पिपुल्स हाइड्रोपावरको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाडौंको नक्सालस्थित कार्यालयमा गरिएको हो ।
कम्पनीले गत कात्तिक २५ गतेदेखि कात्तिक २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्कासन गरेको थियो। यसमा आयोजन प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तामा समावेश गरिएको थियो।
कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको थियो । बाँकी ५१ लाख ५७ हजार ८८० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
यो आईपीओमा १२ लाख ३० हजार ६०३ आवेदकबाट १ करोड ३८ लाख ४४ हजार ९०० कित्ता सेयर माग भएको थियो। जसमा १२ लाख २७ हजार ५९ आवेदकबाट परेको १ करोड ३७ लाख ८५ हजार २२० कित्तामात्रै सदर भएको छ। बाँकी ३ हजार ५४४ आवेदकबाट परेको ५९ हजार ६८० कित्ता बदर भएको छ।
यो आईपीओ मागभन्दा २.६८ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ । मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार भाग्यमानी ५ लाख १५ हजार ७८८ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदकमध्ये ७ लाख ११ हजार २७१ आवेदकको हात खाली भएको छ ।