एनएमबि म्युचुअल फन्डले बिहीबारदेखि इकाईधनीहरूको लाभांश बैंक खातामा जम्मा गरिदिएको छ । फन्डले असोज १७ गतेसम्म एनएमबि क्यापिटल वा एनएमबि बैंकमा आफ्नो खाता विवरण उपलब्ध गराउने इकाईधनीलाई बिहीबारदेखि बैंक खातामा पैसा जम्मा गर्ने कार्य सुरू भएको एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
एनएमबि म्युचुअल फन्डले सञ्चालन गरेको एनएमबि सुभल इन्भेस्टमेन्ट फन्ड–१ ले यस वर्ष इकाईधनीहरूलाई २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । सोही लाभांश बैंक खातामा जम्मा गर्न लागिएको हो । पुँजी नियामक नेपाल धितोपत्र बोर्डले अनिवार्यरूपमा बैंक खातामा लाभांश जम्मा गर्न निर्देशन जारी गरेपछि एनएमबिले खातामा जम्मा गरिदिने कार्य थालेको हो ।
खाता बुझाउन बाँकी भएका लगानीकर्तालाई पनि तत्काल एनएमबि क्यापिटलको कार्यालय वा एनएमबि बैंकका शाखाहरूमा खाता नम्बर पेस गर्न आग्रह गरिएको छ । असोज १७ पछि खाता विवरण पेस गर्नेहरूको निश्चित समयपछि लाभांश जम्मा गरिदिने एनएमबि क्यापिटलले जानकारी दिएको छ ।
एनएमबि बैंकमा खाता हुनेहरूले अनलाइनमार्फत पनि खाताको विवरण पेस गर्न सकिने व्यवस्था गरिएको छ ।



