
-काशिनाथ गौतम-
अहिले देशमा चुनावी माहोल तातिँदै गएको छ, दलहरुले आफ्नो जनता माझ आफ्ना घोषणापत्र सार्वजनिक गर्दैछन् । मतदातालाई आश्वासन दिँदै हिँडेका छन् । दलहरुको घोषणापत्रमा पाँच वर्षमा पाँच लाख युवालाई रोजगारी, सहर स्मार्ट सिटि, मेट्रो रेल, पानीजहाज ल्याउने आफ्नो घोषणापत्रमा सार्वजनिक गरेका छन् ।
शिक्षा, स्वास्थ्य लगायत प्राथमिकताका साथ राखेका छन् । यस्तो लाग्छ, दलका घोषणापत्र हेर्ने हो भने समृद्वि भनेको आज भोलि नै हुने छ । देशमा कोही बेरोजगारी बस्नुपर्दैन, कोही भोकै बस्नुपर्दैन, कोही रोगले मर्नुपर्ने छैन, यो पाँच वर्षमा चमत्कार हुनेछ । देशको मेरुदण्डको रुपमा लिएको कृषि क्षेत्र भने कुनै पनि दलको घोषणा पत्रमा प्राथमिकतामा पर्न सकेको देखिदैन् ।
कृषि प्रदान देश भनेर चिनिएको देशमा कुनै पनि पार्टीका घोषणापत्रमा कृषक समस्या र कृषि क्षेत्र ओझेलमा परेको देखिन्छ । यस तर्फ कुनै पनि दल नेताले मुद्दा उठाउन सकेको देखिदैन् । आखिर किन कृषि क्षेत्र ओझलमा पर्दै आएको छ ? कृषि प्रदान देश भनेर चिनिने देशमा कृषि किन सधै ओझेलमा पर्दै आएको छ । आखिर दलहरुले कस्तो खालको समृद्वि ल्याउन खोजिरहेका छन् ?
आज कुनै पनि व्यक्तिले आफुले गरेको पेसा कमजोर होस् भनेर चाहदैन् । एउटा सानो एलकेजी यूकेजी पढदै गरेको बालकले तिमी भविष्यमा के बन्छौं भनेर सोध्दा उसले डाक्टर, पाईलट, इन्जिनियर निजामती कर्मचारी ठूलो मान्छे बन्ने अष्ट्रेलिया, जापान, अमेरिका जाने सपना देख्दछ । भनेपछि आखिर उसले म भविष्यमा कृषक बन्छु र आफ्नै देशमा बसेर म कृषि केही गर्छु भनेर किन भन्न सक्दैन् ? किन उसलाई कृषि गर्नुपर्छ र कृषक बन्नुपर्छ भनेर विद्यालय स्तरबाट सिकाइदैँन । एउटा सानो बच्चालाई नै यसरी कृषि गर्नु राम्रो होइन् र कृषक बन्नु भनेको कमजोर हुनु हो भनेर मानसपाटलमा सानो उमेर देखि नै रहन्छ । कसरी हाम्रो कृषि क्षेत्र अगाडी बढ्न सक्छ । सहरमा जन्मिएका युवा पुस्तालाई कृषि के हो ? कसरी उत्पादन भएर यहाँ सम्म आईपुग्छ र यहाँ सम्म आईपुग्न कृषकले कति दुःख गर्नुपर्छ भन्ने थाहा पाउँदैन् तब सम्म उसले कृषि र कृषकको महत्व थाहा पाउँदैन् ।
यहाँ राजनीति गर्नेले नेता हुँ भनेर गौरव गर्छन । एमबीबीएस गर्नेले गर्वका साथ डाक्टर हुँ भन्छन । एउटा पत्रकारले आफुलाई राज्यको चौथो अंगको परिचय दिने गर्छन् । एउटा निजामती कर्मचारी, सेना, प्रहरी आफुलाई राष्ट्र सेवक हुँ भन्छन् । तर साँझ, बिहान, घाम, पानी, भोक, तिर्खा नभनी कृषि काम गर्ने कृषक सधै अपहेलित हुनुपर्ने । जसले सयौं परिवार पालिरहेको छ, त्यसको यो देशमा कुनै मान्यता नहुने? कुनै योगदान नहुने? अनि कसरी एउटा युवा कृषि क्षेत्रमा आकर्षित हुन सक्छ, के उनीहरुलाई राज्यले हेर्नु पर्दैन ? कुन त्यस्तो व्यक्ति छ जस्ले म कृषि गर्छु र म कृषक हुँ भनेर भन्न तयार छ ? एउटा छोराले आफ्नो बाबु कृषक हो भनेर भन्न सक्दैन् ।
कसको परिवारले भन्छ, मेरो छोरा भैंसी पालन गर्छ ? कसको श्रीमतीले भन्न चाहान्छ ! मेरो श्रीमानले कृषि गर्नुहुन्छ ? तरकारी खेती पशुपालन गर्नुहुन्छ भनेर कस्को बा, आमाले भन्न तयार हुन्छन् मेरो छोराछोरी कृषि गर्छन् भनेर । बरु उनीहरु मेरो छोरा मलेसिया, दुबई, कतार, जापान, अष्ट्रेलिया गएका छन भनी गर्व गर्छन् । यो अवस्थामा आईपुग्ने कसले बनायो । केही समय वैदेशिक रोजगारी र रेमिट्यान्सले देश धानिएला तर आखिर कहिले सम्म ? अझै पनि कृषि प्रदान देशमा कृषक अपहेलित हुनुपर्ने अवस्था छ ।
उनीहरु अझै पनि खुलेर कृषि क्षेत्रलाई अगाल्न सकेको देखिदँैन । जसको मुख्य कारण सरकारले कृषि क्षेत्रलाई बेवास्ता गर्नु । जुन देशमा ठुलो जनसंख्या कृषिमा नै निर्भर रहेका छन् । बढी मेहनत र लगानी गरेर कम आम्दानी हुने पेशा भएकाले यो पेशा सधै कमजोर र अपहेलित बन्न पुगेको छ । धेरै जसो कृषि क्षेत्रमा लाग्ने तराईमा बसोबास गर्दै आएका रैथाने थारु, चौधरी, आदिवासी समुदाय कृषि क्षेत्रमा आबद्ध रहदैँ आएका छन् । तर उनीहरु नै राज्यबाट सधैँ पछाडि परेका छन् । कुनै सुविधा पाउँन सकेका छैन् राज्य वास्तविक कृषक चिन्न नसक्नुले पनि यहाँ कृषि पेसामा लाग्ने समुदाय घट्दै गएका छन् ।
हाम्रो समाजमा कतिपय व्यक्ति आफुलाई समाजसेवी धनाड्यको सुचीमा राख्न रुचाउने व्यक्ति लाखौँको गाडीमा सयर गर्ने बजारमा गएर एक मुठा सागमा कृषकसँग बार्गेनिङ गरेको देखिन्छ । यी यस्ता व्यक्तिबाट समाज कसरी रुपान्तरित हुन सक्छ । हाम्रो देश भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, भाषा, जातिय र धार्मिक विविधता भएको देश हो । प्राकृतिक र मानवीय स्रोत भएर पनि सधैँ पछाडि परिरहेको हामीसँग अथाह सम्भावना भएर पनि नभए जस्तो बन्नु परेको छ । कृषि प्रदान देश भनिए पनि कुनै क्षेत्रमा पनि आत्मनिर्भर बन्न सकेको छैन् ।
देशको कुल बजेट भन्दा व्यापार घाटा बढ्दो छ । जनताको दैनिक आत्मनिर्भर बन्नु भन्दा पनि परनिर्भर बढ्दै गएको छ । बसाइँसराईले डाँडाकाँडा खाली हुँदै गएका छन् । देशमा भएको युवाहरु विदेशिने क्रम बढ्दो छ । पहाडी जिल्ला बाट बसाइँसराई सरेर सहर आउनेको संख्या बढ्दो छ । सहरमा किनेर खानेको चाप बढ्दो छ । कृषि ग¥यो वर्ष दिनलाई खान नपुग्ने उत्पादन भएको बालीनाली जंगली जनावरबाट बचाउन नसकेपछि आफ्नो पुख्यौली सम्पत्ति छाडेर बाध्यताले सहर झर्नुपरेको छ । भएको जमिन बाँझिएको भने जंगलमा परिणत भएको छ ।
परिवारमा एउटाको कमाईले चारपाँच जनाको परिवार पाल्नुपर्नेहरु अवस्था रहेको छ । देशमा कुनै रोजगारीको सम्भावना नदेखेर आज दैनिक सयौँ युवाहरु आफ्नो परिवार पाल्न खाडी देशमा जान बाध्य भएका छन् । यहाँको एक जनाको कमाईले घरको सबै सदस्य निर्भर हुनुले पनि युवा वैदेशिक रोजगारीमा गएर लामो समय बस्न बाध्य भएका छन् भने एकातर्फ उर्जाशील उमेर अर्काको देशमा खर्चिनु परेको छ । विदेशबाट आफ्नो देशमा केही गर्नुपर्यो भनेर फर्किएका युवाहरु पनि कृषि क्षेत्रमा लागेका युवाहरु आफुले उत्पादन गरेको वस्तुले बजारमा उचित मुल्य नपाउँदा आफुले लगानी गरेको फस्न पुगी पुन : म्यानपावर धाउने गरेका छन् । एकातिर राज्यले कृषि क्षेत्रलाई ध्यान नदिनु र उत्पादन भएको वस्तुको राम्रो बजार प्रबन्ध नगर्नु गरेको पनि बिचौलियाको हात पुग्ने वास्तविक किसानले उचित मूल्य नपाउने अर्कोतिर भएका युवा पनि गरेको लगानी उठाउन नसकेर फेरि विदेश पलायन हुनुले पनि कृषि क्षेत्रमा उल्लेख्य मात्रामा वृद्धि हुन सकेको छैन । यता देशमा भएको उर्जाशील युवाहरु बेरोजगारी भई विदेश पलायन भएका छन् ।
संसारका विकसित देशमा खासगरी संयुक्त राज्य अमेरिका, बेलायत, दक्षिण कोरिया, अष्ट्रेलिया, इजरायल लगायतका देशमा कुल श्रमशक्तिको पाँच दश प्रतिशतको कृषि क्षेत्रमा काम गर्छन तर उपभोग गरिकन उत्पादनको आधा भन्दा बढी निर्यात गर्न सफल छन् । हाम्रो देशको ७० प्रतिशत भन्दा बढी श्रमशक्तिले यही कृषि क्षेत्रमा सम्पुर्ण श्रम सीप लगाउँदा पनि अरबौँ मूल्य कृषि उत्पादन खाद्यान्न फलफुल आयात गर्नुपर्ने बाध्यता छ । वर्षेनी अरबौँको व्यापार घाटा बेहोरिरहेको छ । राज्यले कृषि क्षेत्रलाई वर्षेनी अरबौँ रकम छुटाउँदा पनि वास्तविक कृषकले पाउन सकेका छैनन् । जमिन अभाव छ । जो दलाल पुँजीपति छन् ।
उनीहरुका सयौँ हेक्टर जग्गा अतिक्रमण गरेर बाँझो रहेको छ । बढ्दो सहरीकरण र बसाइँ सराईले पनि उत्पादन क्षेत्र खुम्चिदै गएको छ । तराईमा भएको उब्जनी जमिन सबै दलालीले प्लटिङ गर्नुले पनि कृषियोग्य जमिन पनि बाँझिदै गएको छ । यसतर्फ राज्यले ध्यान दिन सकेको छैन बरु दलालहरुलाई प्रसय दिरहेको छ ।
अहिलेको समस्या जो वर्षभरी खेतबारीका काम गर्छ, उसले पेटभरी खान पाउँदैन् । शरीरमा कपडा लगाउन पाउँदैन । आरामसँग आफ्नौ घरमा बस्न बिरामी हुँदा राम्रो औषधी उपचार गर्न पाउँदैन । आफ्ना बालबच्चा राम्रोसँग पढाउन र लेखाउन सक्दैनन् । यस्तो स्थितिमा हामीले देशको आमुल परिवर्तन खोज्नु पक्कै पनि मुर्खता हुन्छ ।
हामी राष्ट्रिताको कुरा गछौँ, स्वतन्त्रको कुरा गछौँ, लोकतन्त्रको कुरा गछौँ, न्याय र समानताका कुरा गछौँ तर झन पछि झन गरिब र धनी बिचको खाडल गहिरिँदै गएको छ । हो तिनै कृषक हुन जो जीवनभर संघर्ष गरेर पनि राम्रोसँग खान लगाउन, आफ्नो बालबच्चा राम्रो स्कुलमा पढाउन सकेका छैन जब सम्म यी यस्ता कृषि क्षेत्रमा लाग्ने व्यक्ति युवाहरु परिवारलाई राज्यले सुरक्षाको ग्यारेन्टी गर्न सक्दैन् तब सम्म यहाँ कुनै पनि युवा म कृषि गर्छु र कृषक बन्छु भनेर आउँदैन तबसम्म देश समृद्धि कागजको खोष्टामा मात्र सिमित रहन्छ ।



