
बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश विपरित नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार सञ्चालन लाइसेन्सको निवेदन लिने भएको छ । आदेश जारी गर्दा अदालतले प्रयोग गरेको लिखतको भाषाको अपव्याख्या गर्दै बोर्ड निवेदन स्वीकार गर्ने निर्णयमा पुगेको हो ।
अदालतले अनुमति दिने प्रक्रियालाई यथास्थितमा राख्नु भन्ने आदेश जारी गरेको छ । सोही आदेशको बोर्डले अपव्याख्या गरेको छ । उसले अनुमति दिने कामलाई मात्रै यथास्थितिमा राख्नु भनेको तर निवेदन लिने प्रक्रिया स्थगन गर्नु नभनेको भन्दै आदेशको अपव्याख्या गरेको हो ।
नेपाल धितोपत्र बोर्डले गत असोज दुई गते नयाँ ब्रोकर,स्टक एक्सचेन्ज र बस्तु विनिमय बजारको नयाँ लाइसेन्सको लागि आवेदन आह्वान गरेको थियो । उक्त प्रक्रिया रोक्नुपर्ने माग गर्दै गत असोज ३१ गते अधिवक्ता दीपक विक्रम मिश्रले सर्वोच्चमा रिट हालेका थिए । सोही रिटको सुनवाइ गर्दै सर्वोच्चले गत कार्तिक ४ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अदालतले कार्तिक २२ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।


