नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ‘ट्रेड ग्यारेन्टी फन्ड’ सञ्चालन गर्ने भएको छ । नेप्सेले सेयर खरिदकर्ताले समयमा पैसा नदिएको अवस्थामा पनि कारोबार राफसाफ गर्न फन्ड सञ्चालन गर्ने भएको हो । नेप्सेले ‘ट्रेड ग्यारेन्टी फन्ड’को विनियमावलीको मस्यौदा तयार गरी स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पेस गरेको छ । कारोबारमा रकमका कारण राफसाफ नहुने समस्याका लागि ‘ट्रेड ग्यारेन्टी फन्ड’को सुरु गर्न लागेको नेप्सेले जनाएको छ ।
कसरी जम्मा हुन्छ रकम ?
कोषमा नेप्से, केन्द्रीय निक्षेप सेवा, सदस्य व्यवसायी र बोर्डले पुँजी लगानी गर्ने तय भएको छ । कोषमा नेप्से, केन्द्रीय निक्षेप सेवा तथा दलाल व्यवसायीले हरेक वर्षको नाफाबाट निश्चित रकम कोषका लागि छुट्याउनेछन् भने कोषले गर्ने आम्दानी तथा लगानीकर्ता संरक्षण कोषबाट समेत कोषमा रकम जम्मा हुनेछ । विनियमावलीअनुसार धितोपत्र दलालले सेयर खरिद आदेश दिने ग्राहकबाट २५ प्रतिशत रकम अग्रिम लिनुपर्ने व्यवस्था गरिएको छ । सेयर खरिद गरी रकम भुक्तानी नगरेको खण्डमा नेप्सेको स्वीकृति लिई सदस्य दलाल कम्पनीले बिक्री गर्न सक्नेछ । त्यसरी बिक्री भएको सेयरबाट हुने नाफा कोषमा नै जम्मा गर्नुपर्ने व्यवस्था विनियमावलीमा छ ।
कोषले कसरी गर्छ काम ?
लगानीकर्ता सेयर खरिद आदेश दिई रकम भुक्तानी गर्न नसकेको खण्डमा ग्राहक र दलाल कम्पनी दुवै ‘डिफल्ट’ हुन्छन् । त्यस्तो अवस्था धितोपत्र दलाल कम्पनीलाई ग्राहकले भुक्तानी नदिएपछि उक्त कोषको रकम प्रयोग गरी कारोबार राफसाफ हुन्छ । यसरी राफसाफ हुँदा ग्राहकले खरिद आदेश दिएको सेयरमा कोषको अधिकार हुन्छ । सो कोषको रकम प्रयोग गरी कारोबार राफसाफ गरेको खण्डमा वार्षिक २० प्रतिशत व्याजदर तिर्नुपर्छ । सो व्याज दलाल कम्पनीले ग्राहकसँग असुल गर्नसक्ने व्यवस्था पनि छ ।
समयमा सेयर खरिद गरेको रकम भुक्तानी नदिने लगानीकर्तालाई कोषले कालोसूचीमा राख्न सक्नेछ । सो कालोसूचीमा रहेको लगानीकर्ताले पुरानो साँवाव्याज चुक्ता नगर्दासम्म कुनै पनि दलाल कम्पनीबाट सेयर कारोबार गर्न सक्दैनन् । कोष सञ्चालनका लागि नेप्सेले समिति बनाउनेछ भने कोषको पुँजी धितोपत्र वा नेप्सेले तोकेअनुसार हुने विनियमावलीमा उल्लेख छ ।



