बैंकिङ खबर/ गहिरो आर्थिक संकटको भूमरीमा फसेको श्रीलंकाको अर्थतन्त्र अझै सुधार हुन सकेको छैन । श्रीलंकाको इतिहासमै यो आर्थिक संकट ७३ वर्षपछिको सबैभन्दा ठूलो हो । सर्वसाधारण नागरिकको जनजीवन थप दिन–प्रतिदिन कष्टकर बन्दै गएको छ ।
कोरोना भाइरसको महामारीसँगै निरन्तर ओरालो लागेको श्रीलंकाको अर्थतन्त्र सात महिना नाघिसक्दा पनि अझै तंग्रिन सकेको छैन । सन् १९४७ मा स्वतन्त्र भएयताकै ठूलो वित्तीय समस्याको सामना गरिरहेको श्रीलंकाले गत मार्चयता इन्धन, औषधि तथा खाद्यान्न संकटको सामना गरिरहेको छ ।
मुद्रास्फीति उकालो लागिरहेको छ भने वैदेशिक मुद्राको सञ्चितिको अवस्था निकै चिन्ताजनक रहेको छ । जसका कारण २ करोड २० लाख जनताको जीवनस्तर दिनानुदिन निकै कष्टकर बन्दै गएको छ ।
पछिल्ला साताहरूमा श्रीलंकाको नयाँ सरकारले विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाबाट सहयोग प्राप्त गरेको छ । कतिपय संस्थाहरूबाट ऋणसमेत लिएको छ । तर त्यसले पनि श्रीलंकाली अर्थतन्त्र भने अझै सुधार भने भएको छैन ।
अर्थतन्त्र संकटमा परेसँगै श्रीलंकाले जापानबाट आपत्कालीन सहयोग पाएको थियो । युरोपेली संघले मानवीय सहयोग उपलब्ध गराएको थियो भने बंगलादेशसँग मुद्रा सटहीको सुविधा लिएको थियो । त्यस्तै, अमेरिकाले हालसम्म ९० करोड डलरभन्दा बढी सहयोग गरिसकेको जनाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग गत सेप्टेम्बरमा श्रीलंकाले २ खर्ब ९ अर्बको सहयोग प्याकेजका लागि सम्झौता गरिसकेको छ ।
त्यसैगरी, श्रीलंकाले आफ्ना छिमेकी देशहरू चीन र भारतले पनि पनि आर्थिकलगायत सहयोग गरिरहेका छन् । भारतले करिब ४ अर्बको सहयोग उपलब्ध गराइसकेको छ भने भविष्यमा ५ करोड ५० लाख बराबरको कृषिसम्बन्धी ऋण दिने घोषणा गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । त्यसका साथै, चीन र श्रीलंकाले ऋण पुनर्संरचना वार्तासमेत सुरु गरेका छन् । चीनले श्रीलंकासँग स्वतन्त्र व्यापार सम्झौताबारेको वार्ता अन्तिम चरणमा पुगेको जनाएको छ ।
बढ्दो सहयोगका बाबजुद श्रीलंकाली अर्थतन्त्र गम्भीर अवस्थामा नै छ । गत अगस्टमा ७० प्रतिशत रहेको मुद्रास्फीति सेप्टेम्बरमा अझै बढेको जनाइएको छ । आर्थिक विश्लेषकहरूले श्रीलंकामा सन् २०२३ को मध्यसम्ममा मुद्रास्फीति उच्च रहने अनुमान गरेका छन् ।