Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नयाँ स्टक एक्सचेन्जमा विदेशी संस्थाले पनि लगानी गर्न पाउने

२०७९ भाद्र २७ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड सेबोनले विदेशीमा धितोपत्र बजार सञ्चालन गरिरहेका कम्पनी वा संगठित संस्थाले पनि नेपालको धितोपत्र बजार स्टक एक्सचेन्जमा लगानी गर्न पाउने व्यवस्था गरेको छ।

सेबोनले सरकारको स्वीकृतिमा धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। नेपालबाहेक अन्य मुलुकमा धितोपत्र बजार सञ्चालन गरिरहेको कम्पनी वा संगठित संस्थाले धितोपत्र बजारको स्थामित्व ग्रहण गर्ने भएमा सम्बन्धित मुलुकको नियमनकारी निकायबाट धितोपत्र बजार सञ्चालन गर्ने अनुमति प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेको छ।

त्यस्तै त्यस्ता विदेशी साझेदारले कम्तीमा १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गरिरहेको तथा प्रचलित कानुनबमोजिम नेपालमा लगानी वा व्यवसाय गर्न अनुमति प्राप्त गरेको वा नेपाल सरकारले स्वीकृति दिएको हुनुपर्ने व्यवस्था पनि सेबोनले गरेको छ।

संशोधित नियमावलीमा नयाँ धितोपत्र बजारले धितोपत्र कारोबारका लागि कारोबार प्रणाली र सोसँग सम्बन्धित अन्य प्रविधि खरिद वा जडान गर्दा परीक्षण भएको मात्रै ल्याउनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तो कारोबार प्रणाली तथा प्रविधि नेपालबाहेक अन्य मुलुकमा न्यूनतम १० वर्षदेखि निरन्तर सञ्चालनमा रहेको कम्तीमा ३ वटा धितोपत्र बजार सञ्चालनले प्रयोग गरेको प्रणाली वा प्रविधि हुनुपर्ने व्यवस्था गरेको छ।