
बैंकिङ खबर/ धितोपत्र बजारबाट चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ४२ करोड ६ लाख ४३ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । धितोपत्रको दोस्रो कारोबार गरी नाफा कमाएका लगानीकर्ताबाट सरकारले अल्पकालीन र दीर्घकालीन लगानीकर्ताबाट सो रकम संकलन गरेको हो ।
धितोपत्र बोर्डको राफसाफ गर्ने प्रणाली सिडिएससी क्लियरिङ लिमिटेडका अनुसार सरकारले दीर्घकालीन लगानीकर्ताबाट १५ करोड ७० लाख रुपैयाँ र अल्पकालीन लगानीकर्ताबाट २६ करोड ३५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ । सरकारले अघिल्लो आर्थिक वर्षबाट अल्पकालीन र दीर्घकालीन लगानीकर्तामा वर्गीकरण गरेर पुँजी बजारबाट कर उठाउँदै आएको छ ।
सरकारले धितोपत्रको दोस्रो बजारबाट नाफा कमाएको खण्डमा १० प्रतिशतसम्म पुँजीगत लाभकर संकलन गर्दै आइरहेको छ । संस्थागत लगानीकर्ताबाट १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताबाट कम्तीमा ७ दशमलव ५ प्रतिशत पुँजीगत लाभकर संकलन हुने गरेको छ । एक वर्षभन्दा बढी सेयर राख्ने लगानीकर्तालाई दीर्घकालीन र एक वर्षभन्दा कम समयमै सेयर बिक्री गर्ने लगानीकर्तालाई अल्पकालीन लगानीकर्ताका रूपमा सरकारले कर उठाउने गर्छ । धितोपत्र बजारका लगानीकर्ताले भारित औसत लागतका आधारमा पुँजीगत लाभकर तिर्दै आएका छन् ।
चालू आर्थिक वर्षमा सरकारले अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा १७ करोड ५६ लाख रुपैयाँले बढी पुँजीगत लाभकर तिरेका छन् ।



