२०७९ भाद्र २० गते

‘यस वर्षको दशैँ ‘डिजिटल दक्षिणा वर्ष’ को रुपमा मनाउँ’

 बैंकर मनोज ज्ञवाली 

नेपाल राष्ट्र बैंक, समग्र बैकिङ तथा अन्य डिजिटल भुक्तानी सेवा प्रदायकहरुको डिजिटल बैंकिङ प्रवद्र्धनले रंग ल्याएको देखिन्छ । असार २०७८ मा बजारमा चलन चल्तीमा रु.५७१.९६ अर्बका नोटहरू थिए भने असार २०७९ मा चलन चल्तीका कुल नोटहरू ११.६% ले घटेर रु. ५०५.९० अर्ब बराबर रहेको छन् । नोट व्यवस्थापनको लागत र अप्ठ्याराहरू धेरै छन् ।

सानो इकाईका खुद्रा नोटहरू नेपाल राष्ट्र बैंकले समेत जम्मा गर्न मान्दैन । यसैले बैंक तथा वित्तीय संस्थाहरुको कतिपय शाखाहरूमा भल्टमा होइन् भल्ट रुममै नअट्ने गरी खुद्रा नोटहरू थुप्रिएका छन् ।

खुद्रा नोट व्यवस्थापन साच्चै नै बैंकिङको नगद व्यवस्थापना समस्याको रुपमा रहेको छ । फेरि हामीले ‘नयाँ नोट’ सटही गर्ने सुरसारमा छौं । दशैँ तथा तिहारमा नयाँ नोट सटही गर्ने काम सँधैको लागि बन्द गरिनुपर्छ ।

’नोट’ लाई ‘खेलौना’ को रुपमा प्रयोग गर्न नदिने कुरामा राष्ट्र बैंक प्रष्ट हुनुपर्छ । एकातर्फ बैंकिङलाई डिजिटल हुन प्रोत्साहन गर्ने अर्को तर्फ दक्षिणा दिने भन्दै खुद्रा नोटहरु चाड पर्वमा सटही गर्नु हुँदैन जस्तो लाग्दछ ।

बरु यस वर्षलाई ’डिजिटल दक्षिणा वर्ष’ को रुपमा मनाउँ र दक्षिणा खातामा रकमान्तर गरेर दिऊ । पैसाको बचत हुने, नोटको आयु बढ्ने, नोट छपाई खर्च बच्ने, बैंकिङलाई खुद्रा नोट व्यवस्थापनको टाउको दुखाई पनि नहूने ।  ’नयाँ नोट सटही’ गर्ने होईन की डिजिटल कारोबारलाई बढावा दिँदै ’डिजिटल दक्षिणा वर्ष’ मनाउँदा कसो होला ?