सिटिजन्स बैंक इन्टरनेशनलले तीन हजार छ सय ९१ जना लाभग्राहीको खातामा निजी आवास पुनर्निर्माणका लागि अनुदान रकम पठाएको छ । बैंकले गत जेठ १७ गतेका दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग भएको भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि अनुदान रकम वितरण गर्ने सम्झौता बमोजिम १८ करोड ४५ लाख ५० हजार रुपैयाँ उक्त खातामा पठाएको हो । बैंकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकेको लाभग्राहीहरुको खाता खोलि जिल्ला विकास समितिद्वारा पठाईएको रकम सम्बन्धित लाभग्राहीहरुको खातामा जम्मा गरेको हो ।
पुनर्निर्माण प्राधिकरणबाट आएको विवरवण अनुसार जम्मा चार हजार चार सय ७२ जना लाभग्राहीहरुको खाता खोलेको थियो । जसमध्ये बैंकले तीन हजार छ सय ९१ जना लाभग्राहीको १८ करोड ४५ लाख ५० हजार रुपैयाँ मात्र प्राप्त गरेको जनाएको छ । बैंकले जम्ममा गरिएको खातामध्येबाट हालसम्म दुई हजार तीन सय ८१ जना लाभग्राहीले बैंकबाट रकम लिइसकेको र बाँकी एक हजार तीन सय १० जना लाभग्राहीहरुको खाता छिटै सक्रिय गराउने समेत बैंकले जनाकारी गराएको छ । रकम प्राप्त गरेको सम्पूर्ण लाभग्राहीमध्ये दुई सय १५ जना लाभग्राहीहरुको भने विवरण अपूर्ण रहेकोले खाता खोल्न नसकिएको बैंकले बताएको छ । उक्त लाभग्राहीहरुको पूर्ण विवरण उपलब्ध गराइदिन बैंकले सम्बन्धित निकायलाई जानकारी समेत गराइसकेको जनाएको छ ।
बैंकका कर्मचारीहरुले लाभग्राहीहरुको खाता खोल्न सहयोग पुर्याउँदै सहज तरिकाले समयमै अनुदान वितरण गर्दै आएका छन् । बैंकले भूकम्प प्रभावित जिल्लामा दोलखाको भिमेश्वर नगरपालिका, काभ्रेको बनेपा नगरपालिका र मकवानपुरको हेटौडामा रहेको शाखाबाट निजी आवास अनुदान वितरणसम्बन्धी कार्यविधि परिपालना गर्दै अनुदान रकम वितरण गर्दै आएको जानकारी गराएको छ ।



