नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्ना लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । आ.व. २०७२/७३ मा कम्पनीले संचालन नाफा १० करोड ३३ लाख ३७ हजार आठ सय २१ रुपैयाँ र खुद नाफा पाँच करोड ७७ लाख ३६ हजार चार सय आठ रुपैयाँ आर्जन गरेको छ ।
सभाले कम्पनीको संचालक समितिको वाणिज्य बैंक समुहबाट प्रतिनिधित्व गर्न तीन संचालकहरु (राजन सिंह भण्डारी – प्रतिनिधि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, ज्योती प्रकाश पाण्डे – प्रतिनिधि नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र उपेन्द्र पौड्याल – प्रतिनिधि एनएमबी बैंक लिमिटेड) समेत नियक्त गरेको छ ।
हाल १०९ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २,७७१ शाखाहरुबाट खिचिएका चेकहरु नेपाल क्लियरिङ्ग हाउसको ल्ऋज्ी(भ्ऋऋ प्रणालीमार्फत राफसाफ हुँदै आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चेक राफसाफमा १२५ बढी अर्थात कुल ७३ लाख २२ हजार तीन सय ५९ चेक राफसाफ गरेको थियो । सो अवधिमा दैनिक औसत १५.५अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो भने दैनिक ३१ हजार चार सय ७३ चेकको राफसाफ हुने गरेको थियो ।
विद्युतीय भुक्तानी प्रणालीलाई विस्तार गरी सरल भुक्तानीको माध्यमको रुपमा कम्पनीले हालको पूर्वाधारहरुलाई विस्तार गरि गत भाद्र १, २०७३ बाट ५८ सदस्य बैंक वित्तीय संस्थाहरुको संलग्नतामा औपचारिक रूपमा अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गरेको छ । उक्त प्रणालीमा हाल ६३ बैंक तथा वित्तीय संस्थाहरु र ३ रेमिट कम्पनीहरु आवद्ध छन् ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड नेपालमा विद्युतीय भुक्तानी तथा फछर्यौट सम्बन्धि आवश्यक प्रणालीहरुको स्थापना गरी अग्रणी सेवाप्रदायकको रुपमा विकसित गर्ने लक्ष्यसहित नेपाल राष्ट्र बैंकको अगुवाईमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजि प्रा. लि.को पहलमा स्थापित कम्पनी हो ।



