Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

जर्जर आर्थिक संकटको भूमरीमा श्रीलंका : बैंकवित्त थप धरासायी !

२०७९ असार २८ गते


बैंकिङ खबर/
यतिबेला श्रीलंका थप गहिरो आर्थिक संकटको भूमरीमा फसेको छ । श्रीलंकाको इतिहासमै यो आर्थिक संकट ७३ वर्षपछिको सबैभन्दा ठूलो हो । सर्वसाधारण नागरिकको जनजीवन थप दिन–प्रतिदिन कष्टकर बन्दै गएको छ ।

आर्थिक संकटलाई लिएर जारी प्रदर्शनका कारण त्यहाँका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री रनिल विक्रमशिंगेले सामाजिक सञ्जालमार्फत राजीनामा दिएका हुन् । यसअघि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका थिए । जसमा सभामुखलाई अन्तरिम राष्ट्रपति बनाउने प्रस्ताव गरिएको थियो ।

आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका छन् भने राजापाक्षे भागेका छन् । श्रीलंकामा लामो समयदेखि राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध ‘गोटा गो गामा’ र ‘गोटा गो होम’ आन्दोलन चलिरहेको छ । गामा भनेको सिंहली भाषामा गाउँ हो। प्रदर्शनकारीले एकै ठाउँमा पाल टाँगेर राष्ट्रपति र सरकारविरुद्ध गोटा गो गामाको नारा लगाएका छन् भने सवारीसाधनको चर्को हर्न बजाएर विरोध जारी राखेका छन् ।

ह्वातै बढ्यो मुद्रास्फीति दर

श्रीलंकाको मुद्रास्फीतिको दर ह्वातै बढेको छ । अघिल्लो महिना ५४ प्रतिशत रहेको श्रीलंकाको मुद्रास्फीतिको दर अहिले ७० प्रतिशत नाघेको छ । खाद्यवस्तुमा स्फीतिको दर शतप्रतिशत माथि उक्लिएको छ । विदेशी ऋणभार ५१ अर्ब डलरहाराहारी छ । यसमध्ये २८ अर्ब डलर सन् २०२७ सम्ममा तिर्नैपर्नेछ ।

डलरको सञ्चिति सकिएर श्रीलंकाले अहिले इन्धन, खाद्यान्न र औषधिसमेत आयात गर्न सकिरहेको छैन । इन्धन ल्याउन नसक्दा सडकमा सवारीसाधन विरलै गुडेको देख्न पाइन्छ । अधिकांश विद्यालय बन्द गरिएका छन् ।

सवारी नपाएर बिरामी अस्पताल जानसमेत पाइरहेका छैनन् । स्वास्थ्य संस्थाहरूमा औषधि र अत्यावश्यक उपचार सामग्री पनि रित्तिएको छ । औषधि र उपकरण अभावका कारण शल्यक्रियासमेत रोकिएका छन् । मानिसलाई दिनमा एक छाक जुटाउन पनि मुस्किल परिरहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार श्रीलंकाले ‘भयानक मानवीय संकट’ झेलिरहेको छ ।

थप धरासायी बैंक वित्त

देशले आर्थिक मन्दीको सामना गरिरहेको अवस्थामा श्रीलंकाको बैंकवित्तहरु पनि थप धरासायी बनेको छ । श्रीलंकाको केन्द्रीय बैंकको मौद्रिक बोर्डले ‘स्टान्डिङ डिपोजिट फेसिलिटी रेट ‘एसडीएफआर’ र ‘स्टान्डिङ लेन्डिङ फेसिलिटी रेट (एसएल एफआर) दरलाई क्रमशः १०० आधार बिन्दुले बढाएर १४.५० प्रतिशत र १५.५० प्रतिशत ले वृद्धि गर्ने निर्णय गरेको छ ।

बढ्दो घरेलु मुद्रास्फीतिको सामना गर्न यसो गरिएको बैंकले जनाएको छ। साथै, यी दरहरू २१ वर्षकै उच्च छन् । केन्द्रीय बैंकले हालै मुद्रास्फीतिमा सोचेभन्दा बढी वृद्धि भएको जनाएको छ । उच्च मुद्रास्फीति आगामी केही समयका लागि रहने अपेक्षा गरिएको छ।

यसरी प्रतिकूल मुद्रास्फीतिको अनुमानको कुनै पनि वृद्धिलाई समाहित गर्न थप मौद्रिक नीति कडा हुनु आवश्यक हुने मौद्रिक बोर्डको धारणा रहेको थियो।केन्द्रीय बैंकले नीतिगत समायोजनले श्रीलंकाको मुद्रास्फीतिलाई मध्यम अवधिमै ४ देखि ६ प्रतिशतसम्म स्थिर बनाउन मद्दत पुग्ने बताएको छ।

बैंकले सूक्ष्म, साना तथा मध्यम स्तरका व्यवसायीलगायत समग्र आर्थिक गतिविधिमा कडा मौद्रिक अवस्थाको प्रभाव र वित्तीय क्षेत्रको कार्यसम्पादनलाई विज्ञहरूले कालान्तरमा अर्थतन्त्रका सबै क्षेत्रमा भएको मूल्य वृद्धिको दूरगामी प्रतिकूल परिणामबारे विचार गरेको बताए। बैंकले अप्रिलमा ७०० आधार बिन्दुले दर बढाएको थियो तर मे महिनामा आफ्नो अघिल्लो नीतिमा थपघट गरेको थिएन।

यता केन्द्रीय बैंकका गभर्नर डा. नन्दलाल विरासिंघेले भने आफुमा काममा रहि रहने संकेत गर्नुभएको छ । यसअघिका गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक संकट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा दिनुभएको थियो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले श्रीलंकालाई औषधि र अत्यावश्यक सामग्री खरिदका लागि ३० करोडदेखि ६० करोड अमेरिकी डलरसम्म सहयोग गर्ने आश्वासन दिइसकेको छ ।

गभर्नर डा. विरासिंघे देशमा लामो राजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको वार्ता र सहयोगमा थप ढिलाइ हुने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘म एक स्थिर राजनीतिक प्रशासन चाहान्छु, जति चाँडो राम्रो होस्, हामीले प्रगति गर्न, मुख्यतया हामीले आईएमएफसँग वार्ता गरिरहेका कार्यक्रमहरूमा, वित्त जुटाउने र इन्धन, ग्यास र अन्य चीजहरूको अभावलाई सम्बोधन गर्ने प्रयासमा छु ।’

केन्द्रीय बैंकलाई निरन्तरता दिने हो कि भनेर सोध्दा विरासिङ्घेले भन्नुभयाे,‘छ वर्षको कार्यकालको लागि नियुक्त भएपछि मसँग जिम्मेवारी हुन्छ ।’ उहाँले  रिजर्भसँग १ अर्ब डलरको लागि वार्ता भइरहेको पनि बताउनुभयाे । ‘प्राविधिक स्तरमा हामी लगभग (आईएमएफसँग) सहमत छौं तर नीतिगत तहमा हामीलाई स्थिर प्रशासनबाट उच्च–स्तरको प्रतिबद्धता चाहिन्छ,’ गभर्नरले भन्नुभयाे । 

बीमा कम्पनीहरु पनि संकटमा

आर्थिक संकटका कारण श्रीलंकाली बीमा कम्पनीहरु पनि थप धरासायी बनेका छन् । राजधानी कोलोम्बोमा सरकारविरुद्ध भएको हिंसात्मक प्रदर्शनका कारण १ अर्ब भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

सरकारी स्वामित्वको नेशनल इन्स्योरेन्स ट्रष्ट फण्ड बोर्डले अधिकत्तम १ अर्ब रुपैयाँ नोक्सानी व्यहोर्नुपर्ने देखिए पनि नोक्सानीको आँकडा यो भन्दा धेरै बढी हुने अनुमान गरिएको छ । तर अन्य नोक्सानी पूनर्बीमा सम्झौतामार्फत् वैश्विक पूनर्बीमकलाई हस्तान्तरण गरिएको हुँदा बोर्डलाई तुलनात्मकरुपमा कम दबाब पर्ने आशा गरिएको छ ।

श्रीलंकाको सामाजिक अशान्तिले अन्तर्राष्ट्रिय बीमा बजारले आगामी दिनको लागि आफूलाई तयार गरिरहनु पर्ने घाटाको सङ्केत हुन सक्छ । श्रीलंका भ्रष्ट राजनीति र अर्थतन्त्रको कुव्यवस्थाका कारण ग्रसित भएको कुरा सही भए पनि राष्ट्रसंघ र विश्व बैंकका प्रतिवेदनले त्यसलाई आफ्नो ऋण चुक्ता गर्न बाध्य पार्ने दबाबले अन्य देशहरूलाई पनि ऋण चुक्ताको दबाब पर्न सक्ने देखिएको छ ।

राष्ट्रपति निवासमा भेटियो करोडौं रुपैयाँ

राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपतिको सरकारी निवासबाट करौडौँ रूपैयाँ नगद बरामद गरेको बताइएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटिएको दाबी गरेका हुन् ।

सामाजिक सञ्जालमा केही भिडियो सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीले नोट गनिरहेको देख्न सकिन्छ । ठूलो संख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एउटा भिडियोमा केही प्रदर्शनकारी नोट गन्दै गरेको देखिएका छन् । श्रीलङ्काका संचारमाध्यमका अनुसार राष्ट्रपति भवनबाट बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ । उक्त रकम अदालतमा बुझाइएको विवरण सार्वजनिक भएको छ ।

श्रीलंकाबाट नेपाल सर्‍यो विश्व बैंक क्षेत्रीय कार्यालय

विश्व बैंकको क्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपाल सरेको छ । कार्यालयको काठमाडौंमा उद्घाटन भएको छ। निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित बैंकको नयाँ क्षेत्रीय कार्यालयको संयुक्त रुपमा कार्यालय उद्घाटन गर्नुभयो । यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा रहेको उप–क्षेत्रीय कार्यालय विधिवत् रुपमा नेपालमा सरेको छ। अब यही कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य संचालन हुनेछ।

नयाँ क्षेत्रीय कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि भरपर्दो साझेदारका रुपमा रहीआएको बताउनुभयो ।सन् १९६९ मा विश्व बैंकबाट पहिलो पटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएकोमा हाल विश्व बैंकको वित्तीय सहयोगमा संचालित २५ आयोजनाहरुमा करिब तीन अर्ब अमेरिकी डलर बराबरको प्रतिवद्धता प्राप्त भइसकेको छ।