२०७९ जेष्ठ २७ गते

लघुवित्तमा देखा परेका समस्याहरु

-गोविन्द प्रसाद पौडेल-

स-साना आयआर्जन गर्ने र बैंकिङ्ग पहुँच भन्दा टाढा रहेको गरिब वर्गका व्यक्तिहरु, त्यसमा पनि महिलाहरुलाई सरल र सहज किसिमबाट वित्तीय सेवा पुर्‍याउने पवित्र उद्देश्यका साथ प्रदान गरिने सेवालाई लघुवित्तको परिभाषा भित्र समेट्न सकिन्छ । लघुवित्त सेवा न्यून आय भएका व्यक्तिहरुलाई वित्तीय तथा गैहवित्तीय सेवाको माध्यमबाट निजहरुमा आय आर्जनका अवसरहरुको श्रृजना गर्दै गरिबीको दलदलबाट केही माथि उठाउने एक शसक्त तथा प्रभावकारी साधन पनि हो ।

नेपालको कुल जनसंख्याको १८ प्रतिशत जनसंख्या अझै पनि गरिबीको रेखामुनी रहेको र करिब २० प्रतिशत जनसंख्याको हिस्सा औपचारिक वित्तीय सेवाको पहुँच भन्दा बाहिर रहेको अवस्थामा लघुवित्त कार्यक्रमले सो पहुँचमा वृद्धि गर्न अहंम् भूमिका खेल्न सक्ने देखिन्छ ।
लघुवित्तको सेवालाई सामाजिक व्यवसायको रुपमा पहिचान बनाउन लघुवित्तहरु लागि परेको समेत देखिन्छ ।

नेपालमा नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त लघुवित्त वित्तीय संस्थाहरुका अलावा केहि सहकारी संस्थाहरुले समेत ग्रामीण पद्धतिको माध्यमबाट लघुवित्त सेवा प्रदान गरिरहेको देखिन्छ । विगतमा लघुवित्त वित्तीय संस्थाहरु स-सानो ऋणमात्र लगानी गर्ने र सो ऋण समेत पाक्षिक रुपमा साँवा तथा ब्याज असुल उपर गर्ने गर्दथे ।

विगतमा लघुवित्त सेवा गैंह्रसरकारी संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्तताको ईजाजत प्राप्त गरी न्यूनतम मुनाफामा सेवा भावपूर्ण रुपले कार्यक्रम संचालन गरेको देखिन्थ्यो । उनीहरुको ठूलो खर्च कर्मचारी तथा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि गरी सदस्यहरुकोे उद्यमशिलता विकासमा हुने गर्दथ्यो । संस्थाले पनि मुनाफा वितरण गर्न नपर्ने हुँदा अधिक नाफा कमाउन दवाव नहुने हुँदा कार्यक्रमको सफलताका लागि आवश्यक क्षमता अभिवृिद्धमा खुलेर लगानी गर्ने गर्दथे ।

हाल लघुवित्त वित्तीय संस्थाहरु कम्पनी ऐन अन्तर्गत कम्पनीको रुपमा दर्ता भैं नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त गरी संचालन हुने र ती संस्थाका शेयर लगानीकर्ताहरुको ध्येय नाफा कमाउने तथा लाभांश अधिक लिने भएको देखिन्छ । सामाजिक व्यवसायको रुपमा स्थापित हुने लघुवित्त संस्थाहरु नाफामा केन्द्रित हुन गएको देखिन्छ । फलस्वरुप लघुवित्त संस्थाहरुले आफ्ना संस्थामा कार्यरत कर्मचारी तथा सदस्यहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु कटौती गर्दै जाने तथा गर्नै परेको खण्डमा पनि नेपाल राष्ट्र बैंकको निर्देशन रुप विनियोजित कोषबाट मात्र गर्ने गरेको देखिन्छ ।

तसर्थ, लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो मर्म तथा धर्मलाई नजर अन्दाज गर्दै छोटो समयमा अधिक नाफा लिन खोज्ने प्रवृितले गर्दा समस्याहरु देखापर्ने क्रम बढ्दै गएका छन् । लघुवित्त क्षेत्रका सदस्यहरुमा अधिक ऋणभार, सामुहिक दायित्व स्वीकार नगर्ने, किस्ताको साँवा तथा ब्याज भुक्तानी गर्न आनाकान गर्ने, बहना बाजी धेरै गर्ने, ऋणको दुरुपयोग गर्ने, नक्कली कागजपत्र तथा विवरणहरु पेश गरी ऋण लिने, कर्मचारीहरु माथि डर धम्की दिने, विगत कोरोना कालमा पाएको व्याज छुट तथा पुनःतालिकीकरणको माग गर्ने, धेरै सदस्यहरुको ऋण एक दुई जना सदस्यले मात्र चलाउने लगायत ऋण रकम मिटर व्याजमा उपयोग गर्नु लगायतका समस्याहरु देखिँदै आएका छन् ।

नेपालमा संचालित लघुवित्त मोडललाई कोरोना कालमा निकै प्रभावित बनाएको र करिब–करिब धेरै केन्द्र बैठकहरु संचालन हुन नसिकरहेको तथा निज सदस्यहरुको आयश्रोतमा समेत प्रतिकुल प्रभाव परोको अवस्था थियो । सदस्यहरु बिचको भेटघाट, क्षमता अभिवृद्धिका कार्यक्रम, तथा अनुगमन जस्ता कार्यक्रमहरु ठप्प प्रायः रहेको थियो तर कोरोनाको प्रभाव केहि शान्त हुन साथ बजारमा सहज भएको तरलताका कारण लघुवित्त वित्तीय संस्थाहरुले सहज किसिमबाट लगानीमा बढवा दिँदै गर्दा विगतमा हुने गरेको ऋण लगानी पूर्व तथा पश्चातका प्रक्रियाहरुको कार्यान्वयमा केहि फितलोपन देखिन गयो ।

फलस्वरुप हाल बाध्यतावश लघुवित्तको मोडल, नीति विधि तथा थितीहरु पुनःकार्यान्वय गराउन लघुवित्त वित्तीय संस्थाहरुलाई हम्मे-हम्मे हुँदै जाँदा बजारमा देखिएको तरलता संकुचनका कारण पुनःआर्थिक क्रियाकलाप घट्दो दरमा रहेको देखिन्छ । जसको नतिजा स्वरुप ऋणको गुणस्तर कमजोर हुँदै ठूलो रकम कर्जा जोखिम कोषमा राख्नुपर्ने स्थितिका साथै अधिकांश लघुवित्त वित्तीय संस्थाहरुको वासलात खुम्चिुनुका साथै नाफामा समेत संकुचन आउन सक्ने अनुमान गर्न सकिन्छ ।

तसर्थ, लघुवित्त वित्तीय संस्थाहरुले पुनः सदस्यहरुसँग सदस्य शिक्षा, वित्तीय शिक्षा, व्यवसायिक शिक्षा लगायतका शिर्षकहरुमा प्रभावकारी रुपमा तालिम तथा अन्तरक्रिया कार्यक्रमहरु संचालन गरी लघुवित्तको महत्व तथा अर्थका बारेमा सदस्यहरु तथा विभिन्न तह र तम्कामा रहेका पदाधिकारी र जनसंख्यालाई बुझाउनुपर्ने टट्कारो आवश्यकता रहेको छ ।

लघुवित्त संस्थाहरुले पनि कम्तिमा पनि नियामक निकायले निधारण गरेको कर्मचारी क्षमता वृद्धिको बजेट खर्च गरी निजहरुको क्षमतामा वृद्धि गरी समस्यहरुका समस्याहरुसँग जुध्न सक्ने योग्य तथा क्षमतावान बनाउनुपर्ने देखिन्छ । लघुवित्तकर्मीहरुले लघुवित्तले समाजमा पारेको राम्रा कुराहरुको प्रचार –प्रसार गर्नुका साथै देखा परेका समस्याहरुमा आत्मसाथ गर्दै सदस्यको व्यवहार गरी लघुवित्तको पवित्र उद्देश्य तथा कार्यहरु माथि कसैले पनि प्रश्न गर्ने ठाउँ राख्नु हुँदैन ।

(पौडेल आरएमडीसी लघुवित्त वित्तीय संस्था लि., काठमाडाैँका प्रबन्धक हुनुहुन्छ । )