June 17th, 2022

हुण्डीको परिभाषा ? हुण्डी र रेमिट्यान्सका फरक दुई धार

हुण्डी :

सरकारी तथ्यांकमा नआउने गरी व्यक्तिगत सम्पर्कका आधारमा अनौपचारिक माध्यमबाट भित्रिने रकम नै हुण्डी हो । हुण्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो । दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ । नेपालबाट कुनै पनि देशमा पैसा पठाउन हुण्डीका एजेन्टले आफ्नो एजेन्टलाई खबर गरेर एजेन्टमार्फत कारोबार गर्ने गर्दछन् । यसबापत उनीहरूले केही प्रतिशत कमिशन लिने गर्छन् ।

विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानल पयोग नगरी व्यक्ति वा दलालहरुमार्फत पैसा पठाउने कार्य दण्डनीय कार्य हो । कार्यथलोमै लिन आउने र घरमै पुर्याईदिने भएपनि यसको कुनै प्रमाण हुँदैन, जसले गर्दा हुण्डी विश्वाशीलो र भरपर्दो मानिँदैन ।

अर्थतन्त्रमा हुण्डीको असर

हुण्डीबाट रेमिट्यान्स नै आएपनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले यो राष्ट्रिय अर्थतन्त्रको रेमिट्यान्समा गनिँदैन । जसले गर्दा सरकारी कोषमा विदेशी मुद्रा आएको तथ्यांक देखिँदैन ।

व्यक्तिको घर परिवारले रकम पाएको भएपनि औपचारिक च्यानलबाट नआएको हुँदा गणना र तथ्यांकमा यसले असर गर्दछ । त्यसका साथै अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको संचिति घटाउँछ । यसले अनधिकृत व्यापार व्यवसाय बढाउँछ ।

हुण्डी कारोबार गर्दाका हानीहरु

हुण्डीबाट गरिएको कारोबार अवैधानिक हो । त्यसैले यो दण्डनीय छ । नेपालमा हुन्डी कारोबारको अनुसन्धान गर्ने प्रमुख निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हो । हुण्डी कारोबार गरेको थाहा पाएमा विभागले कारबाहीका प्रक्रिया अघि बढाउँछ ।

हुण्डीमार्फत गरिने कारोबारमा जोखिम बढी हुन्छ । पठाएको रकम बीचैमा हिनामिना हुन पनि सक्छ । आफूूले रकम पठाएको एजेन्ट पक्राउ पर्न पनि सक्छ । यी विविध डर सँधै भइरहन्छन् । जबसम्म आफन्तको हातमा पैसा पुगेको खबर पाइँदैन तबसम्म पैसा पठाउनेलाई चिन्ता भइरहन्छ । अबैधानिक कार्य भएको हुँदा हुण्डी मार्फत गरिएको कारोबारले देशमा कर छलि जस्ता अपराधिक गतिविधि बढाउनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई कमजोर गराउँदछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]