
बैंकिङ खबर/ यतिबेला सरकार विद्युतीय भुक्तानी प्रवद्र्धनमार्फत भौतिक मुद्रामाथिको निर्भरता घटाउने अभियानमा छ । नेपाल राष्ट्र बैंकको यो अभियानमा बैंक तथा वित्तीय संस्थाहरू आक्रामक रुपमा लागिरहेका छन् । तर, बैंक तथा वित्तीय संस्थामा चेक वा पैसा बोकेर घण्टौँसम्म लाइनमा बस्ने प्रचलन भने अझै कायमै छ ।
जनसाधारणमा जागरण नआएसम्म, उनीहरूले विद्युतीय भुक्तानीको ज्ञान हासिल गरी त्यसको व्यावहारिक कार्यान्वयनमा अभ्यस्त नभएसम्म, यसलाई दैनिक जीवनको अङ्ग नबनाएसम्म सेवाप्रदायक, नियामक निकाय, सरकार, सञ्चारमाध्यम वा अन्य कुनै पक्षले जति नै जोड गरे पनि भौतिक मुद्रामाथिको निर्भरतालाई निरुत्साहित गर्न सकिँदैन ।
नेपालमा विभिन्न तथ्यांकहरुले पनि पछिल्लो समय डिजिटल भुक्तानी प्रणालीमार्फत् हुने कारोबारमा संख्यात्मक रुपमा केहि वृद्धि हुँदै गएको छ तर यो प्रयाप्त भने होइन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘क्यास लेस इकोनोमी’ को अवधारणमा अनुसार डिजिटल कारोबारलाई प्रश्रय दिँदै आउनुभएको छ । गभर्नर अधिकारीको पहलमा विभिन्न तरकारी बजारदेखि सार्वजनिक स्थानमा क्यूआर कोडबाट भुक्तानीको व्यवस्था लागुभएको छ ।

प्रविधिको प्रयोग अन्तर्गत पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा सञ्चालन भएका तरकारी बजार, मन्दिर तथा अटोरिक्सा लगायत धेरै स्थानमा क्विक रेपोन्स (क्यूआर) कोड जडान भइसकेका छन् । तरकारी बजारबाट सुरु भएको डिजिलट भुक्तानी अवधारण अनुसार अधिकाशं सार्वजनिक स्थानमा विभिन्न सेवा प्रदायक कम्पनीले क्यूआर कोड जडानलाई तिव्रता दिदैँ आएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनाको (गत साउनदेखि चैतसम्म) वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७८ अनुसार डिजिटल भुक्तानी प्रणालीमार्फत हुने कारोबार रकममा केहि वृद्धि भने भएको छ ।
गत फागुन महिनाको तुलनामा चैत महिनामा आईपिएस, कनेट आईपिएस, मोबाइल बैंकिङ तथा वालेट तथा क्युआरमा आधारित भुक्तानी कारोबारमा भने वृद्धिको तथ्यांकले देखाउँछ । चैतमा क्युआरमा आधारित भुक्तानी मार्फत ८ अर्ब ९४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत फागुन महिनामा यस्तो भुक्तानी ७ अर्ब ७६ करोड २० लाख रुपैयाँ बराबरको भएको थियो । आईपिएममार्फत गत फागुन महिनामा १ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा चैत महिनामा १ खर्ब ८५ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ ।
गत महिनाको तुलनामा चैत महिनामा मात्रै १९ अर्ब ७३ करोड रुपैयाा बढीको कारोबार भएको हो । यस्तै, गत फागुन महिनामा कनेक्ट आईपिएस मार्फत २ खर्ब ७३ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा चैत महिनामा २ खर्ब ९१ अर्ब २९ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।
गत फागुन महिनामा मोबाइल बैंकिङ मार्फत १० खर्ब ७१ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा चैत महिनामा ११ खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत फागुन महिनाको तुलनामा इन्टरनेट बैंकिङ, वालेट र अनलाइन ‘इ–कमर्श’ हुने कारोबार रकममा कमी आएको छ । यसरी पछिल्लो समय डिजिटल कारोबार भइरहेपनि क्यास कारोबारको धरातल भने जहाँको त्यहि छ ।
नगद कारोबारमा धङ्धङ्गी

नेपालमा अझै पनि अधिकांश व्यक्तिहरु नगद कोरोबार नै गरिरहेको पाइन्छ । उनीहरुमा परम्परागत पुरातन सोच अझै हटिसकेको छैन । त्यसैले उनीहरु नगदै कारोबार गर्दै आएका छन् । व्यापारी होस् वा अन्य व्यक्तिहरु बढी मात्रामा नगद कारोबार गर्दै आएका छन् । अधिकांश व्यापारी र ग्राहकहरु नगद कारोबारलाई नै बढी विश्वास गर्ने गर्दछन् ।
काठमाडौं पुतलीसडक नजिकै एपी मोबाइल हाउट सञ्चालन गर्दै आउनुभएका पर्शुराम भण्डारी अझै पनि अधिकांश ग्राहकहरु क्यास कारोबार नै गर्न चाहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘क्युआर कोड रोखपछि धेरैले क्यास नै बोकेर आउनुहुन्छ । एक दुई जनाले मात्रै क्युआर कोर्ड प्रयोग गर्नुहुन्छ ।’ क्युआर कोडमार्फत लेनदेन गर्न धेरै सहज भएपनि खासै प्रयोग नभएको भण्डारीको अनुभव छ ।
सेवा सरल, अनावश्यक झण्झट

डिजिटल कारोबार सेवा सरल भएपनि अनावश्यक झण्झट मान्ने गर्दछन् । पूराना पुस्ताका सेवाग्राहीहरु यसमा बढी पर्छन । मोबाइल आज हरेक मानिसहरुको आवश्यकता बनेको छ । यो सबैको पहुँचमा समेत छ । अनावश्यक झण्डट नमान्ने हो भने आफ्नो सबै काम मोबाइलबाट नै गर्न सकिन्छ ।
काठमाडौं इच्छुमती तरकारी बजारमा व्यवसाय गर्दै आउनुभएका रामहरि उप्रेती डिजिटल कारोबार सहज भएपनि ग्राहकहरु झण्झट मान्ने गरेको बताउनुहुन्छ ।
‘डिजिटल क्युआर कोड राखेको छु’, उहाँ भन्नुहुन्छ, ‘सबै ठाउँमा वाइफाई हुँदैन । मान्छेहरू डाटा खोलेर कसले हाल्ने पैसा भनेर झन्झट मान्छन् । प्रयोग गर्न सहज ठाक्दैनन्।’
उप्रेती थप्नुहुन्छ, ‘डाटा खोली-खोली कसले हालोस् । वाइफाई भएको भए ग्राहकले धेरथोर पैसा यहीँबाट तिर्थे । विस्तारै बानी लाग्थ्यो । कसै–कसैले पैसा ल्याउन बिर्सिएछु भनेर डाटा खोलेर पनि यसैबाट तिर्दै आएका छन् ।’
उहाँ भन्नुहुन्छ, ‘मान्छेहरू पढेका छैनन्, तरकारी किन्न बुढाबुढी आउनुहुन्छ । उहाँहरू यसको प्रयोगमा अभ्यस्त हुनुहुन्न । वाइफाई भयो भने पढेलेखेका मान्छे आए भने यसको प्रयोग गर्छन् ।’
इच्छाशक्तिको कमी
नेपाली समाज आज जति शिक्षित छ, त्यस अनुपातमा अत्यावश्यक तथा दैनिक कामका लागि उपकारक प्रविधि तथा सञ्चारका साधनको प्रयोगबारे जिज्ञासु छैन । परिणाम, समाजको ठूलो तप्का आफ्ना दैनिक व्यवहारलाई सहज बनाइदिने, अनेकन झमेलाबाट मुक्ति दिने अत्याधुनिक प्रविधिसित अनभिज्ञ छ वा अभ्यस्त छैन । यो तप्का इतिहासको हरेक कालखण्डमा करिब करिब उही रूपमा छ, जो आफ्नो क्षमता र समाजको विकाससित प्रत्यक्ष सरोकार राख्ने नवीनतम आविष्कारको ज्ञान र प्रयोगबारे चासो राख्दैन ।
ऊ परम्परागत जीवनशैलीलाई परिवर्तन गर्न चाहँदैन, या त म पनि केही नयाँ गर्न सक्छु भन्ने विश्वास, त्यसप्रतिको संकल्प र अग्रसरता उसमा छैन । ऊ आफूलाई अत्यावश्यक नपरी आफ्नो नियमित कर्मभन्दा दायाँबायाँ सोच्दैन । जब कामै नचल्ने अवस्था आउँछ, अनि मात्र बाधाअड्काउ फुकाउका लागि प्रविधिसित साक्षात्कार हुने, त्यो पनि सकभर अरूकै सहायता लिएर काम चलाउने प्रवृत्ति यो तप्कामा छ ।
यो समूह वस्तुविनिमय प्रणालीदेखि आजको अत्याधुनिक प्रविधियुक्त विद्युतीय प्रणालीसम्म समाजको ठूलो हिस्सा ओगटेर बसेको छ । आजको प्रविधिमैत्री युगमा पनि यदाकदा वस्तुविनिमय प्रणालीको अवशेष विद्यमान हुनु यसैको उपज हो । यो समूह नै हरेक कालखण्डमा समतामूलक समाज स्थापना र द्रुततर प्रगतिको बाधक हो । यहाँ सोचविचार गरेरै यो समूहलाई लक्षित गरिँदै छ ।
आज अत्यन्त न्यून जनसङ्ख्या मात्र सञ्चारका कुनै न कुनै माध्यमको प्रयोगबाट वञ्चित छ । के सहर, के गाउँ, अधिकांश मानिस मोबाइल फोनको पहुँचमा छ । समाजको ठूलो हिस्सा स्मार्ट फोन र इन्टरनेटसित अभ्यस्त छ । फेसबुक, मेसेन्जर, टिकटक, युट्युबजस्तै अनेकौँ सामाजिक सञ्जालको टिआरपी बढाउनमा धेरै नेपालीको योगदान छ । कतिपयको त दिनको अधिकांश समय यस्तै सामाजिक सञ्जालको प्रयोगमा बित्ने गरेको छ । अभूतपूर्व रूपमा बैंकिङ क्षेत्रमा पहुँच विस्तार भएको छ ।
बैंक तथा वित्तीय संस्थामा खाताको सङ्ख्या नियाल्ने हो भने देशका हरेक आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीअन्तर्गत आइसकेझैँ भान हुन्छ, यद्यपि वास्तविक अवस्था त्यो होइन । तर, आफ्ना रुचिका विषयमा विद्युतीय उपकरण तथा प्रविधिको भरपूर प्रयोग गरिहेको यही समूह आफ्ना कामलाई पाइला पाइलामा सरल बनाउने प्राविधिक ज्ञान आर्जन र तिनको प्रयोगप्रति उदासीन छ । सामाजिक सञ्जालमा भएका आधुनिक विकाससित अभ्यस्त यो वर्ग कुनै वेवसाइटमा आफूलाई अत्यावश्यक सूचना हेर्नुपरेमा अरूलाई नै गुहार्छ ।
केही दिन होइन, केही घण्टा पनि होइन, केही मिनेटको प्रयासमै अभ्यस्त हुन सकिने यस्ता विषयको ऊ उपयोग गर्न चाहँदैन, या त सधैँभरि अरूमा आश्रित हुन्छ । धेरैजसो घरमा परिवारको कुनै न कुनै सदस्य यी विषयमा अभ्यस्त छन्, सिक्न अन्यत्र जानुपर्ने अवस्था पनि छैन । तर, यही सुविधाले परिवारका अन्य सदस्यलाई परनिर्भर बनाइरहेको छ । एउटाले जानेपछि निर्वाह त भएकै छ नि भन्ने सोचले पनि अन्ततः ठूलो हिस्सा प्रविधिमैत्री बन्न सकिरहेको छैन । तसर्थ, सिक्नलाई झन्झट मानेर सधैँभरको झन्झट बोकिरहने यो समूहको सोच परिवर्तन गराउनु आवश्यक छ, जुन निकै चुनौतीपूर्ण पनि छ ।
डिजिटल कारोबारमा इच्छाशक्ति नहुँदा प्रयोगमा थप समस्या हुने गरेको छ। मान्छेहरु डिजिटल कारोबारलाई अनावश्यक झण्झटका रुपमा हेर्ने गर्दछन् । तर यो सहज र सरल छ ।
विगत लामो समयदेखि डिजिटल कारोबार गर्दै आउनुभएका काठमाडौंका यज्ञप्रसाद अधिकारी डिजिटल कारोबार सहज भएपनि मान्छेमा इन्छाशक्तिको कमीकै कारण समस्या भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सामान किन्नलाई पर्समा पैसा बोकेको छैन भने पनि डिजिटल कारोबार गर्न सकिन्छ । यसले निकै सहज हुन्छ । तर उनीहरुमा सिक्ने इच्छाशक्ति नै छैन भने के गर्ने ?’
उहाँ थप्नुहुन्छ, ‘अहिले मान्छेहरूमा इच्छाशक्तिकै कमी छ । डिजिटल कारोबार गर्ने मनस्थितिमा पूर्ण रुपमा पुगिसकेका छैनन् । त्यसले गर्दा नतिरिने पो हो कि, पैसा जाने पो हो कि भन्ने खालका मनस्थिति पनि धेरैको छ । मेरो विचारमा थोरैले यसमाथि विश्वास गरेको जस्तो लाग्छ । यो भनेको इच्छाशक्तिको कमीले हो ।’
उपभोक्ताको दायित्व
मानव जीवनसँग जोडिएका सरल, सहज, झन्झट, सुविधा, विकासजस्ता विषयहरू सापेक्ष छन्, अर्थात् यी विषयलाई सापेक्षतामा हेर्नु आवश्यक छ । जीवन कहिल्यै सरल हुँदैन, ‘भन्दा सरल’ हुन्छ । वस्तुविनिमय प्रणालीको युगमा भन्दा धातुमुद्राको युगमा जीवन निकै सरल थियो । तर, आजको विद्युतीय कारोबारको युगको अपेक्षामा त्यही धातुमुद्राको युगमा जीवन कैयौँ गुना कठिन थियो । हिजो जीवनलाई निकै सरल बनाएको कागजी मुद्रा आज झन्झटको भारी बनिसकेको छ । सापेक्षतावादको यही सिद्धान्तमा टेकेर जीवनलाई थप सरल, सहज र सुविधायुक्त बनाउँदै लानु मानवको धर्म र अद्वितीय क्षमता पनि हो । यही नै विकासक्रम हो र व्यक्ति र समाजको प्रगतिको आधार हो । मानवीय आवश्यकता पूर्तिकै लागि विकास हुन्छ र त्यही विकासप्रदत्त नवीनतम ज्ञान र प्रविधिको अभ्यासमै व्यक्ति र समाजको प्रगति निर्भर गर्छ । त्यसैले नवीनतम प्रविधिहरूको प्रयोगमा अभ्यस्त भएर समाज र देशको विकासमा सहयोगी भूमिका खेल्नु हामी सबैको दायित्व हो, जसले सबैभन्दा बढी प्रयोगकर्तालाई नै लाभ पुर्याउँछ ।
विद्युतीय भुक्तानी जटिल विषय बिलकुलै होइन । मोबाइल फोनको सामान्य प्रयोग गर्न जानेका, अक्षर र अङ्क चिनेका र इन्टरनेटको कामबारे सामान्य जानकारी हासिल गरेका हामीमध्ये जोकोही यो सुविधाको सुरक्षित प्रयोग गर्न योग्य छौँ । सिकाइका लागि केही समय खर्चिन झन्झट मानेर जीवनभर झन्झटका अनेकन भारी बोक्नुभन्दा एकपटक सिक्नु उत्तम विकल्प हो । आखिर चाहेर–नचाहेर एकदिन त सिक्नु नै छ । सिकाइ यस्तो विषय हो जुन जन्मेदेखि मृत्युपर्यन्त चलि नै रहन्छ । सिकाइले हामीलाई आत्मनिर्भर बनाउँछ, आफूमाथि विश्वास पैदा गराउँछ जुन प्रगतिको आधार सिद्ध हुन्छ । त्यसैले आजै सिकौँ र विद्युतीय भुक्तानीलाई दैनिक जीवनको अभिन्न अंग बनाऔँ । यसले हाम्रो समय र श्रमको मात्र होइन, पैसको पनि वचत गर्छ । बारम्बार भइरहने यो वचतलाई सिर्जनात्मक कार्यमा लगाउन सकिएमा जीवनमा नसोचेको परिवर्तन आउन सम्भव छ । हामीले आज चालेको यो सानो कदम आफू, समाज र देशको सर्वाङ्गीण विकासमा कोसेढुंगा सावित हुन सक्छ ।
जहाँसम्म पहुँच अभाव र अन्य चुनौतीका प्रसंग छन्, यी विस्तारै न्यून हुँदै जानेछन् । यीमध्ये कतिपय हाम्रै त कतिपय सेवाप्रदायकको सक्रियताले सम्बोधित हुनेछन् ।
विद्युतीय भुक्तानीको महत्त्वबोध नहुनु

भुक्तानीका नवीनतम विद्युतीय माध्यमबारे जानकारमध्ये पनि कतिपय व्यक्तिलाई विद्युतीय भुक्तानीको बहुआयामिक महत्त्वबोध नभएको पाइएको छ । भुक्तानीमा विद्युतीय प्रणालीको व्यापकताले उपभोक्ता, सेवाप्रदायक, समाज र समग्र राष्ट्रलाई समेत पु¥याउने फाइदाबारे जानकार हुने हो भने अधिकांश व्यक्ति यसप्रति प्रोत्साहित हुने सहजै अनुमान गर्न सकिन्छ ।
विद्युतीय भुक्तानीले उपभोक्ताको समय र श्रमको दैनिक बचत हुने कुरा त चेक वा पैसा बोकेर भौँतारिनु नपर्ने, आफ्नो साथमा हमेसा हुने मोबाइलबाटै इच्छाएको वेला भुक्तानी गर्न सकिने उदाहरणले नै बुझाउन सकिन्छ । खुद्रा पैसाका लागि चिन्ता गर्नुनपर्ने, सधैँ वास्तविक मूल्यमा कारोबार गर्न सकिने, पैसा हराउने, चोरिने वा बोक्न बिर्सिने समस्याबाट मुक्ति पाइनेजस्ता प्रत्यक्ष फाइदाका विषय पनि बुझाउन कठिन छैन । कोभिड १९ महामारीको अभूतपूर्व अवस्थाको स्मरण र अनुभूति यसको महत्त्वबोध गराउने उपयुक्त उदाहरण बन्न सक्छ । परिवार, आफन्त वा नजिकका, चिनेजानेका मानिसको निकट हुनु वा जुनसुकै वस्तु छुनु जोखिमपूर्ण हुने अवस्थामा सबैभन्दा बढी व्यक्तिको हातमा पुग्ने नगदको दैनिक कारोबार वास्तवमै जोखिमपूर्ण र संशयदायक थियो । यदि हामी विद्युतीय भुक्तानीमा अभ्यस्त थियौँ भने नछोईकनै भुक्तानी आदान–प्रदान गर्न सक्थ्यौँ । यीबाहेक विद्युतीय भुक्तानीले व्यक्ति वा समाजलाई अनेकौँ अप्रत्यक्ष लाभ दिइरहेको हुन्छ ।
विद्युतीय भुक्तानीले समाजमा आपराधिक क्रियाकलापलाई धेरै हदसम्म निरुत्साहित गर्छ । भ्रष्टाचारको त यो शत्रु नै हो । अवैध आर्थिक लेनदेन विद्युतीय माध्यमबाट गर्नु ज्यादै जोखिमपूर्ण हुने हुँदा नगद वा भौतिक सम्पत्तिमै गरिन्छ । त्यसैले भौतिक मुद्राको प्रयोगलाई निरुत्साहित गरी विद्युतीय भुक्तानीको प्रवर्धन गर्न सकिएमा भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्छ ।
विद्युतीय भुक्तानीले सार्वजनिक सेवाप्रवाहलाई छिटो–छरितो, चुस्त–दुरुस्त र पारदर्शी बनाउँछ । यसले अन्ततः उपभोक्तालाई नै बढी फाइदा पु¥याउँछ । विद्युतीय माध्यमबाट गरिएको भुक्तानीमा व्यापारीले नियमानुसार राज्यलाई तिनुपर्ने कर छल्ने सम्भावना न्यून रहन्छ । यसले देशको ठूलो समस्याको रूपमा रहेको करछलीलाई निरुत्साहित गर्छ, परिणामस्वरूप राज्यको आय बढ्न गई विकासले गति लिन सक्छ । यसले सेवाप्रदायकहरूलाई पनि दिनहुँ पैसा जम्मा गर्न बैंक जानुपर्ने झन्झटबाट मुक्ति दिनुका साथै लेखाव्यवस्थापनमा समेत ठूलो राहत दिन्छ । यसले राज्यलाई देशमा चलिरहेको आर्थिक क्रियाकलापको निगरानी तथा नियमन गर्न तथा आवश्यक नीति–नियम तर्जुमा र कार्यान्वयनमा समेत सघाउँछ ।
अर्को महत्त्वपूर्ण पक्ष विद्युतीय भुक्तानीले मुद्राको मुद्रणमा बर्सेनि राज्यले खर्चने अर्बौं रुपैयाँ जोगाउँछ । हजार रुपैयाँको नोट छाप्दा झन्डै साढे तीन रुपैयाँ खर्च हुन्छ । एक रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ खर्च गर्नुपर्छ । नगदरहित कारोबार सुशासित समाज विकासको महत्त्वपूर्ण आधार हो । संसारका सुशासित मुलुकहरूमा नगदरहित कारोबार हुने गरेको छ । व्यक्ति र समाज दुवैलाई सभ्य र आधुनिक तुल्याउन यो प्रविधिको अभ्यास जरुरी छ । विद्युतीय भुक्तानीका यी र यस्ता उपभोक्ता र राज्यसँग जोडिएका फाइदाको बोध गराउन सकिएमा यसप्रति आकर्षण बढ्न गई समाज क्यासलेस सोसाइटीतर्फ अग्रसर हुन सक्छ ।
सरल पनि अपरिहार्य पनि

डिजिटल बैंकिङ एक नयाँ युग हो । अब हामीले पहिलेको जस्तो पैसाको लेनदेन गर्नका लागि बैंकको शाखाहरुमा धाइरहन पर्दैन । यो वास्तवमा कारोबार गर्न सहज र सरल पनि छ । समयको वचत हुने र यो नभई नहुने विषय बनेको छ । घरमै बसेर केही मिनेटमै कम्प्यूटर, ल्यापटप र स्मार्टफोन आदिको प्रयोगबाट सबै बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिन्छ । यसको अतिरिक्त पैसा पनि लाग्दैन । डिजिटल बैंकिङले ग्राहकहरुको दैनिकी एवं जीवनशैलीमा बैंकलाई प्रविधिबाट सम्बन्ध जोड्ने गर्दछ ।
पहिले हामी पैसा निकाल्न घण्टौसम्म लाइन बस्नुपर्ने बाध्यता थियो भने अहिले एटिएमको माध्यमबाट सजिलै केही छिनमै नगद प्राप्त गर्न सक्छौं । यस डिजिटल युगले सबैकुरा सहज बनाइदिएको छ, हामी जुनसुकै स्थानमा गएर डेबिट कार्डद्वारा नगद बिना नै कुनै पनि वस्तु तथा सेवाको उपभोग गर्न सक्छौ । त्यसैले अबका दिनमा चेक कम प्रयोग गर्दै जानुपर्ने देखिन्छ ।
तर पनि डिपोजिट गर्ने सिस्टम अझै छ । चाहना शक्तिले सिक्ने शक्तिको विकास गर्नुपर्छ । यो अपरिहार्य पनि छ । पछिल्लो समय इन्टरनेट कम्पनीहरु धमाधम आइ रहेका छन् । इन्टरनेट दररेटहरु अझ सुलभ भएको अवस्था छ । त्यसैले नेपालमा डिजिटलको विकल्प छैन । विश्वका कयौँ देशहरुमा वित्तीय क्षेत्र डिजिटलमैत्री भइ सकेको अवस्था छ ।
नेपाली समाज पछिल्लो समय निकै शिक्षित बनिसकेको छ, तर वित्तीय साक्षरताको दृष्टिले भने अझै पनि अनपढप्रायः नै छ । वित्तीय क्षेत्रमा संलग्न व्यक्तिहरूका अतिरिक्त केही प्रतिशत व्यक्ति मात्र वित्तीय क्षेत्र र त्यससँग सम्बन्धित नवीनतम प्रविधिबारे जानकार छन् । तसर्थ, विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरी भौतिक मुद्रामाथिको निर्भरता घटाउन सर्वप्रथम सहरदेखि ग्रामीण क्षेत्रसम्म वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रम तय गरी तिनको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक छ । यसको कार्यान्वयनमा सञ्चारमाध्यम तथा सामाजिक संघ–संस्थाको भूमिका महत्त्वपूर्ण बन्न सक्छ ।
त्यसैले अब सरकारले पनि विद्यालय तहमै शैक्षिक क्षेत्रमा डिजिटलमैत्री पाठ्क्रम निर्माण गर्नुपर्ने देखिन्छ । जसले विद्यालय तहबाट नै विद्यार्थीहरुलाई डिजिटल कारोबारमा ज्ञान प्राप्त होस् । उनीहरुले आफूले पनि डिजिटल कारोबार गर्न सकिनु भने उनीहरुले पनि आफ्नो परिवार, छरछिमेकमा डिजिटल कारोबार गर्न उनीहरुले सिकाउन सकूँन ।
‘डिजिटल कारोबार बुझ्ने शिक्षाको सामुहिक पहलहरु गरौं’

डिजिटल प्रयोग देशको विकास अत्यावश्यक छ । यसका लागि अझ बैंकको महत्वपूर्ण योगदान छ । किनभने बैंक अर्थव्यवस्थाको जग हो । यो एक महत्वपूर्ण सुरुवात हो । यसको प्रयोगबाट पारदर्शिता, सबै क्षेत्रमा सेवाको सहज र सरल पहुँच र अर्थव्यवस्थालाई नगदरहित हुन सक्छ ।
यस्तै, डिजिटल बैंकिङ लोकप्रिय बनाउनका लागि वित्तीय साक्षरतामा जोड दिन आवश्यक छ । यसका लागि बैंक क्षेत्रमा समेत आपसी सहयोगको आवश्यकता छ । अर्थात् गाउँ–गाउँमा वित्तीय साक्षरताको स्तरमा सुधार गर्न सकियो । विशेषगरी दुर दराज क्षेत्रमा हुने डिजिटल बैंकिङको विस्तारमा गर्न सकियो भने यसले अझ व्यापकता पाउनेछ ।
देशका धेरै मानिसहरु आज पनि बैंकिङको प्रयोगबाट टाढै छन् । किनभने केही यसको पहुँचबाट टाढा नै छन् । केही भने यस प्रविधिलाई लिएर विश्वस्त हुन सकेका छैनन् । जस्तै, मोबाइल बैंकिङ, बैंकिङको एक अत्यन्तै सरल र सस्तो विकल्प भएतापनि ग्राहकहरुबाट अपेक्षित लोकप्रियता पाउन सकिएको छैन ।





