नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जिवी नेपालले वित्तीय साक्षरताको सुरुवात घर र विद्यालय स्तरदेखि नै हुनुपर्ने बताएका छन् । वित्तीय साक्षरताका लागि बैँकिङ खबर डट कमको शुभारम्भ कार्यक्रममा डा. नेपालले पैसाको मुभमेन्टका विषयमा बालबालिकाहरुलाई पनि जानकारी गराउनुपर्ने बताए । वित्तीय गतिविधिका बारेमा जानकार नहुँदा नेपालको ग्रामीण क्षेत्रको पुँजी बैँकसम्म नआइपुगेकाले यससम्बन्धि जानकारी हरेकमा हुनुपर्ने उनको धारणा थियो । एक्काइसौँ शताब्दीमा पनि अधिकांश नेपालीहरु टोपी र मोजामा नै पैसा सुरक्षित हुने विश्वास गर्ने र ऋण लिनको लागि साहुकोमा धाउने प्रचलन रहेकोमा यस प्रचलनको अन्त्य गर्नका लागि वित्तिय साक्षरता अभियान जरुरी रहेको नेपाललको भनाइ छ । उनले भने, “नेपालको ४३ प्रतिशत पुँजी अझै पनि बैँकिङ पहुँचबाट बाहिर छ । यसलाई बैँकिङ प्रणालीभित्र समावेश गरी मुलुकको विकास निर्माणमा लगाउन वित्तीय साक्षरता जरुरी छ ।” नेपाल राष्ट्र बैँकले मौद्रिक नीतिमार्फत वित्तिय साक्षरताको कार्यक्रमलाई समेत अघि सारेको समेत नेपालले जानकारी गराए ।
कार्यक्रममा बोल्दै वरिष्ठ वित्तिय साक्षरता अभियान्ता इन्दिरा पन्तले पैसा कमाउने, व्यवस्थापन गर्ने र खर्च गर्ने कुराको ज्ञान हरेक सर्वसाधारणमा हुनु जरुरी रहेको बताइन् । यसका लागि नेपालका शैक्षिक संस्थाहरुसँग बैँक तथा वित्तीय संसथहरुले समन्वय गरी वित्तीय साक्षरताको अभियानलाई सशक्त बनाउनुपर्ने उनको जोड थियो । “मुलुकभर ४० हजारको संख्यामा शैक्षिक संस्था छन्”, उनले भनिन्, “यद्यपि, त्यहाँ वित्तिय गतिविधिबारे जानकारी गराइँदैन ।” त्यस्तै, सक्षम नेपालका वित्तीय साक्षरता प्रमुख विनोद ढकालले पनि नेपालमा आर्थिक गतिविधि बढाउनको लागि वित्तिय साक्षरता अत्यावश्यक रहेको औँल्याए । सक्षम नेपालमार्फत दुई वर्षदेखि ४ लाख विपन्न परिवारलाई वित्तिय पहुँचमा ल्याउने अभियानमा आफूहरु लागिरहेको समेत उनले जानकारी गराए ।
त्यसैगरी, नेपाल राष्ट्र बैँकका प्रवक्ता त्रिलोचन पंगेनीले वित्तिय साक्षरताले वित्तिय गतिविधि बढाउने र वित्तिय गतिविधिले मुलुकको समग्र आर्थिक गतिविधिलाई उकास्ने बताए । कार्यक्रममा बोल्दै नेपाल बैँकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले वित्तिय साक्षरता अभियानमा मिडियाको भूमिका एकदमै सबल हुने जिकिर गरे । बैँकको प्रयोग सम्बन्धि जानकारीको अभावमा सर्वसाधारणमा अन्यौलता कायम रहेकाले मुलुकको हरेक कुनाकाप्चासम्म बैँकिङ गतिविधि विस्तार गर्न वित्तिय साक्षरता जरुरी रहेको उनको भनाइ थियो । शिक्षा मन्त्रालयका उपसचिव जीएस अर्यालले निरक्षरलाई साक्षर बनाउने विभिन्न अभियानहरु नेपालमा भइरहेको भएतापनि कुनै अभियानमा वित्तिय साक्षरतालाई नजोडिएको प्रष्ट पारे । पढाई, लेखाई र गणितीय जानकारीलाई प्राथमिकतामा राख्नु, बैँक तथा वित्तिय संस्थाहरु सहर तथा सदरमुकाम केन्द्रित रहनु लगायतका कारणवश नेपालमा बैँकिङ गतिविधिले फड्को मार्न नसकेको उनको ठहर छ । यसको समाधानका लागि वित्तिय साक्षरता र राष्ट्रिय साक्षरता अभियानबिच सहकार्य जरुरी रहेको उनले बताए ।
कार्यक्रममा, अर्थमन्त्रालयका वित्तिय महाशाखा प्रमुख सूर्यप्रसाद आचार्यले नेपालमा वित्तिय पहुँच विस्तार हुन नसक्नुमा वित्तिय साक्षरताको कमिका साथै प्रभावकारी नितीको अभाव तथा बैँकिङ पूर्वाधारको अभाव जिम्मेवार रहेको ठहर गरे । गत बैशाख १२ गतेको भुकम्पको प्रसंगलाई जोड्दै उनले जनतामा वित्तिय ज्ञान नहुँदा पिडितलाई ठूलो क्षति भएको दाबी गरे । उनले भने, “जनतामा वित्तिय ज्ञान भएको भए उनीहरुले आफ्नो जीवन तथा घर सम्पत्तिको वीमा गराएका हुन्थे । जसकारण वीमाबाटै उनीहरुको क्षतिपूर्ति हुन्थ्यो र उनीहरुले सरकारको १५ हजार कुरेर बस्नुपर्ने अवस्था आउँदैनथ्यो ।” भूकम्पपश्चात् जम्मा ११ प्रतिशतले मात्रै वीमा दाबी गरेका छन् । त्यस्तै, बैँकहरु जनताको माग तथा आवश्यकताका आधारमा भन्दा पनि आफ्नो सुविधाको आधारमा खुल्ने गलत प्रचलन नेपालमा रहेको आचार्यको दाबी छ ।
कार्यक्रममा विभिन्न बैँक तथा वित्तिय संस्थाका प्रमुख व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रम बैँकिङ खबर डटकमका प्रधानसम्पादक माधव निर्दोषको सभापतित्व तथा नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जिवी नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।