May 18th, 2022

खुम्चिँदै भारतको अर्थतन्त्र, थोक मुद्रास्फीति सूचांक १७ वर्ष यताकै उच्च

बैंकिङ खबर/ गहिरो आर्थिक संकटमा फसिरहेको श्रीलंकापछि भारत पनि आर्थिक संकटको दिशातिर गइरहेको संकेत देखिन्छ । भारतमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको छ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले जारी गरेको तथ्यांक अनुसार भू–राजनीतिक घटनाक्रमका कारण मुद्रामा दबाब आउँदा भारतको विदेशी मुद्रा सञ्चिती ११.१७३ बिलियन डलर घटेर ६०६.४७५ बिलियन डलरमा सीमित भएको छ । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट हो ।  भारतीय केन्द्रीय बैंकमा गत २५ मार्चमा समाप्त भएको गत सातामा विदेशी मुद्राको सञ्चिती २.०३ बिलियन डलर घटेर ६१७.६४८ बिलियन डलरमा झरेको थियो ।

विदेशी मुद्रा सञ्चितीमा यसअघि सबैभन्दा खराब गिरावट ११ मार्चमा भएको थियो। त्यतिबेला आरबीआईमा विदेशी मुद्राको सञ्चितीमा ९.६ बिलियन डलरको गिरावट आएको थियो। विदेशी मुद्रा सञ्चितीमा भएको तीव्र गिरावट मुद्रा सम्पत्तिमा आएको गिरावटबाट प्रेरित रहेको जनाइएको छ । जुन १०.७२७ बिलियन डलर घटेर ५३९.७२७ बिलियन डलरमा सीमित भएको छ ।

मुद्रास्फीति सूचांक १७ वर्ष यताकै उच्च

भारतको थोक मुद्रास्फीति दर सन् २००५ यताकै उच्च विन्दुमा पुगेको छ । रुस युक्रेन युद्धका कारण इन्धन र कच्चा पदार्थको मूल्य वृद्धि तथा अमेरिकी केन्द्रीय बैंकले ब्याज दर बढाएपछि डलर बलियो र भारु कमजोर हुँदा भारतको थोक मुद्रास्फीति दर १७ वर्ष यताकै उच्च भएको हो ।

महंगीएको कच्चा पदार्थको कारण उत्पादन खर्चमा वृद्धि हुँदा अप्रिल महिनाको थोक मुद्रास्फीति दर १५.०८ प्रतिशतले वृद्धि भएको छ । पहिलेबाट नै उच्च रहेको इन्धनको मूल्य रुसले युक्रेनमा आक्रमण गरेपछि अझ आकाशिएको छ । अप्रिल महिनामा मात्रै इन्धनको मूल्य ३८.६६ प्रतिशतले बढेको छ । यसैगरी भारु ४ प्रतिशत भन्दा धेरैले अवमूल्यन भएको छ ।

यसैगरी थोक उत्पादन मूल्य १०.८५ प्रतिशतले बढेको छ । खाद्यान्नको मूल्य ८.८८ प्रतिशतले बढ्न पुगेको छ । थोक मुद्रास्फीति दर १३ महिना यता दुई अङ्कमा कायम भएसँगै यसलाई नियन्त्रण गर्नको लागि आगामी जुन महिनामा भारतीय रिजर्भ बैंकले ०.४ प्रतिशतले रिपो रेट बढाउने सम्भावना प्रबल हुँदै गएको इकरा कि प्रमुख अर्थशास्त्री अदिति नायरले बताएकी छिन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]