बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी (NCHL-IPS) प्रणालीमा आवद्ध गराउँदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले रिलायन्स फाइनान्स लिमिटेडसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार अब कम्पनीले रिलायन्सलार्ई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।
यस प्रणालीमार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने (Direct Credit) र लिने (Direct Debit) जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ ।
यस प्रणालीका लागि कम्पनीले ६२ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यको रुपमा र ३ रेमिट कम्पनीसंग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ । रिलायन्स फाइनान्ससँगको यस सम्झौतापछि नेपाल क्लियरिङ्ग हाउसको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध सदस्य संख्या ६६ पुगेको छ ।
क्लियरिङ्ग हाउसले हाल संचालन गर्दै आएको NCHL-ECC सेवामार्फत आफ्ना ११० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २,७७१ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएको । गत भदौ १, २०७३ देखि ५८ सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) सेवाको संचालन शुरु गरिसकेको छ । यो सेवा ग्राहकले सदस्य बैंक वित्तीय संस्थाहरु मार्फत प्राप्त गर्न सक्नेछन् ।



