कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानीमा उल्लेख्य सुधार आएको छ । कृषि तथा ऊर्जालगायत उत्पादनशील क्षेत्र तथा विपन्नवर्ग कर्जामा लगानी बढाउनुपर्ने राष्ट्र बैंकले लिएको नीतिका कारण कृषि क्षेत्रको लगानी वर्षेनि बढ्दो देखिएको हो । बैंकहरूले गत आर्थिक वर्षसम्म कृषि क्षेत्रमा ७८ अर्ब ७९ करोड ऋण प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा कृषि क्षेत्रमा बैंकहरूको कर्जा प्रवाह करिब तीन गुणाले बढेको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष मात्र कृषि क्षेत्रमा कुल १३ अर्ब ६३ करोड थप लगानी भएको छ ।
किसान तथा उद्योगीले खेतीपाती, चिया उत्पादन, पशुपाल, मत्स्य, वन, वधशालालगायतका क्षेत्रमा लगानी गर्न बैंकबाट ऋण लिने गरेका छन् । तथ्यांकअनुसार कृषि क्षेत्रमा कर्जा प्रवाह सबैभन्दा बढी पशुपन्छी पालनको क्षेत्रमा छ भने दोस्रोमा खेतीपातीका लागि छ । तेस्रोमा चिया, चौथोमा वन, मत्स्य तथा बधशालामा लगानी देखिन्छ । तथ्यांकअनुसार आव ०६८/६९ मा कृषि क्षेत्रमा कुल २८ अर्ब ७९ करोड ४० लाख लगानी भएकोमा गत आर्थिक वर्षसम्म पशुपालनमा मात्र २८ अर्ब ७६ करोड १७ लाख पुगेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष पशुपालनको क्षेत्रमा ८ अर्ब ३ करोड रकम थपिएको हो ।
त्यसैगरी गत वर्ष खेतीपाती तथा कृषि सेवामा १० अर्ब ३४ करोड ७९ लाख लगानी भएको छ भने चिया उत्पादनमा मात्र ३ अर्ब ४२ करोड १८ लाख लगानी भएको छ । वन, मत्स्य तथा बधशालामा २ अर्ब १ करोड रकम लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ । अन्य कृषिका अन्य विविध क्षेत्रको एकमुष्ट लगानी ३४ अर्ब २४ करोड ९९ लाख छ ।
कसिलो मौद्रिक नीतिको प्रभाव
आर्थिक वर्ष ०७३/७४ को मौद्रिक नीतिले अघिल्लो वर्षको नीतिको व्यवस्थालाई निरन्तरता दिँदै वाणिज्य बैंकहरूले आफ्नो कुल कर्जाको २० प्रतिशत तोकिएका उत्पादनशील क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । यसमध्ये कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको न्यूनतम् सीमा हालको १२ प्रतिशतबाट ०७४ असार मसान्तसम्ममा १५ प्रतिशत पुर्याउनु पर्ने व्यवस्था गरिएको छ । मौद्रिक नीतिले विपन्नवर्ग कर्जामा वाणिज्य बैंकलाई ५ प्रतिशत, विकास बैंकलाई ४ प्रतिशत र फाइनान्स कम्पनीलाई ३ प्रतिशत लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरको छ भने वाणिज्य बैंकहरूले ५ प्रतिशतको २ प्रतिशत कर्जा प्रत्यक्ष रूपमा लगानी गर्नुपर्नेछ ।



