Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुरः एक हप्तामा सात फरार प्रतिवादी पक्राउ

२०७८ चैत्र ३ गते

बैंकिङ खबर/ नेपालमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ पर्नेको संख्या बढ्दै गएको छ । हाल दिनहुँ जस्तो बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ पर्ने गरेका छन् । नेपाल प्रहरीका अनुसार पछिल्लो एक हप्ताको अवधिमा नेपालमा बैंकिङ कसुरका सात जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१२ घर भएका ५६ वर्षीय डल्ले कामीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा नगद १८ लाख रुपैयाँ जरिवान, ५ दिन कैद र विगो रकम १८ लाख रुपैयाँ ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका जम्बुडाँडाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत पठाईएको उक्त महाशाखाले जनाएको छ ।

बैंकिङ कसूर मुद्दाकै फरार प्रतिवादी ललितपुर, ललितपुर महानगरपालिका–६ घर भई हाल भक्तपुर कमलविनायक बस्ने ४१ वर्षीया राधा माताङ्गीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत पुस २० गतेको फैसलाले ५ दिन कैद र १९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो ।

राधाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी÷जानी पीडितलाई झुक्यानमा पारी सानिमा बैंक लिमिटेडमा रहेको ‘सानिमा नारी वचत’ खाताबाट रकम भुक्तान हुने भनी चेक दिएकोमा भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी दाङ तुलसीपुर उपमहानगरपालिका–८ अश्वार ठेगाना भएका ३० वर्षीय अनुप पाण्डेलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ काँडाघारीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङ घोराहीमा बैंकिङ कसूर मुद्दा दर्ता भई उच्च अदालत तुलसीपुरबाट २०७८ फागुन २५ गते पक्राउ अनुमती जारी भएको तथा ईनजिनियरिङ एण्ड ईन्फ्रा प्रोजेक्ट प्रालिबाट साईड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका पाण्डेले पीडितको सवारी साधन प्रयोग गरी सवारी साधनको भाडा बापतको रकम १ करोड ४४ लाख १७ हजार ७ सय ७६ रूपैयाँ मध्ये सानिमा बैंकको प्रर्याप्त मौज्दात नभएको चेक मार्फत १ करोड ८ लाख ५७ हजार ७ सय ७६ रूपैयाँ रकम भएको चेक दिई बैकिङ कसूर गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाइने उक्त ब्यूरोले जनाएको छ ।

यस्तै बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु बस्ने गोरखा भिमसेन थापा गाउँपालिका–६ ठेगाना भएका २५ वर्षीय निसम बिक, काठमाडौं मनमैजु बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१७ ठेगाना भएका ३२ वर्षीय मुन्दिप भुजेल र काठमाडौं रामकोट बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ ठेगाना भएकी ३६ वर्षीया शान्ता कोईराला दवाडी रहेका छन् । निसम र मुन्दिपलाई बिहीबार र शान्तालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरको गत मंसिर १२ गतेको फैसलाले मुन्दिपलाई ४ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना र गत मंसिर २१ गतेको फैसलाले शान्तालाई ९ लाख ९० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो भने निसमको नाममा बैकिंङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो ।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले मुन्दिपलाई काठमाडौं मनमैजुबाट र निसमलाई बनस्थलीबाट र शान्तालाई सितापाइलाबाट पक्राउ गरेको हो । मुन्दिप र शान्तालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने निसमलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

 

 

Ad