
बैंकिङ खबर/ पछिल्लो केहि दिनयता बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ पर्ने क्रम बढेको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर महानगरपालिका–६ घर भई हाल भक्तपुर कमलविनायक बस्ने ४१ वर्षीया राधा माताङ्गीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत पुस २० गतेको फैसलाले ५ दिन कैद र १९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो ।
राधाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितलाई झुक्यानमा पारी सानिमा बैंक लिमिटेडमा रहेको सानिमा नारी वचत” खाताबाट रकम भुक्तान हुने भनी चेक दिएकोमा भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।
यसअघि आइतबारमात्रै रौतहटको गौर नगरपालिका–१ भन्सारटोल घर भई काठमाडौँको बूढानीलकण्ठ बस्ने अविन्दकुमार जैसवाल पक्राउ परेका छन् ।
उनले प्रभु बैंक कपन शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेर चेक दिएका थिए। उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट गएको मङ्सिर १४ मा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा नौ लाख जरिवाना र दुई दिन कैद हुने फैसला भएको थियो। त्यसपछि फरार रहेका उनलाई ब्यूरोबाट कपनबाट आइतबार पक्राउ गरि फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको जनाइएको छ।