
बैंकिङ खबर/ आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ।
फागुन १२ गतेदेखि १९ गतेसम्म बिभिन्न चरणमा आयोजित तालिम कार्यक्रममा ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत २१० जना फिल्ड कर्मचारीहरुको सहभागिता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले उद्घाटन गरेको कार्यक्रममा उनले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यसप्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे।
कार्यक्रममा क्षमता अभिवृद्धि सम्बन्धी तालिम खगेन्द्र तिम्सिनाले प्रशिक्षण दिएका थिए । साथै उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा तथा दिपेन्द्र खनालले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेका थिए ।
साथै उक्त कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को उत्कृष्ट फिल्ड कर्मचारी अनिल कछडियालाई प्रशंसापत्रसहित नगद पुरस्कारले सम्मान गरिएको थियो।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘विपन्नका निम्ति आशा” भन्ने मल नाराका साथ ककनी–६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरि २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करिब ७१ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
संस्थाको हालसम्म करिब रु.४ अर्ब ८० करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्व ५५ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ।




