२०७८ फाल्गुन १७ गते

रुस-युक्रेन युद्धः बैंकिङ क्षेत्र थप प्रभावित, युद्धविराम प्रस्तावले पलाएका आशाहरु !

बैंकिङ खबर/ रुस युक्रेन युद्धका कारण बैंकिङ क्षेत्र थप प्रभावित बनेको छ । रुसले पश्चिमा देशको प्रतिबन्धको असर रोक्न ब्याजदर ह्वात्तै बढाएको छ । रुसी केन्द्रीय बैंक द बैंक अफ रसियाले ९.५ प्रतिशत रहेको ब्याजदर एकैचोटि २० प्रतिशत पु¥याएको छ ।

विशेषगरी अमेरिका र सबैजसो युरोपेली राष्ट्रले आक्रमणको विरोध गर्दै रुसविरुद्ध असामान्य प्रतिबन्ध लगाएपछि भइरहेको रुसी मुद्रा रुबलको अवमूल्यन रोक्न र यसबाट भइरहेको महंगी नियन्त्रण गर्न ब्याजदर बढाउने निर्णय भएको छ । मस्कोले कम्पनीहरुलाई समेत ८० प्रतिशत विदेशी मुद्रा बिक्री गर्न आदेश दिएको केन्द्रीय बैंक र अर्थ मन्त्रालयले जनाएको छ ।

केन्द्रीय बैंकले भनेको छ, ‘रुसी अर्थतन्त्रको बाह्य अवस्थामा व्यापक परिवर्तन आएको छ ।’ यसैबीच रुसी केन्द्रीय बैंकले ब्रोकरहरुलाई विदेशीले गर्ने सेयर कारोबारमा पनि निलम्बन गर्न आदेश दिएको छ ।

विदेशीले रुसी लगानीको हिस्सा बेच्न खोजेसँगै यस्तो आदेश दिइएको हो । यस्तै रूसमा विभिन्न प्रतिबन्धका कारण लक्षित बैंकहरूका ग्राहकहरूले एप्पल पे, गुगल पे लगायतका कार्डहरु प्रयोग गर्न पाएका छैनन् । प्रतिबन्धको मारमा परेका धेरै रूसी बैंकहरूले जारी गरेका कार्डहरू प्रयोग गर्न नपाएका हुन् ।

रूसको केन्द्रीय बैंकले एप्पल पे र गुगल पे सेवाहरु ग्राहकले प्रयोग गर्न नपाएको जनाएको छ । बैंकहरूमा भिटिबी समूह, सोभकम बैंक, नोभिकम बैंक, प्रोम्सभाइज बैंक र ओटक्रिटिइमा विभिन्न प्रतिबन्धहरु लगाइएका छन् ।‘ती बैंकका ग्राहकहरूले विदेशमा आफ्नो कार्ड प्रयोग गर्न वा प्रतिबन्ध जारी गरेका देशहरूमा दर्ता भएका कम्पनीहरूलाई अनलाइन भुक्तानी गर्न सक्ने छैनन्’ केन्द्रीय बैंकले भनेको छ ।

यस हप्ताको सुरुमा रसियाले युक्रेनका दुई छुट्टिएका क्षेत्रहरूमा सेना तैनाथ गरेपछि धेरै देशहरूले यसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् ।बेलायत, अमेरिका, युरोपेली संघ र अष्ट्रेलियाले रुसी बैंकहरूको विदेशी स्वामित्वमा रहेको सम्पत्ति रोक्का गर्ने सरकारहरूमध्ये छन् जसमा एस वर बैंक, जेनरल बैंक, आइएस बैंक, रोसिया र ब्लाक सि बैंक पनि पर्छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, ‘अमेरिकामा उनीहरूसँग भएका सबै सम्पत्ति रोक्का गरिने छ ।’ वाल स्ट्रीट जर्नलले रिपोर्टका अनुसार रूसका मानिसहरूले रूसी रूबलको मूल्य घट्ने चिन्तामा अमेरिकी डलर पाउनको लागि एटीएममा लाममा बसेका छन् ।

एमएसएनबीसीले भनेको छ, ‘मस्कोका केही बैंकहरूमा अमेरिकी डलर सकिँदैछ । ठूलो मात्रामा निकासीले बैंकहरूमा दौडने डर पैदा गरेको छ जसले उनीहरूलाई ऋण र वित्तपोषणको लागि आवश्यक पूँजीको अभाव हुन सक्छ ।’ केन्द्रीय बैंकले भनेको छ,‘प्रभावित बैंक कार्डहरूले कुनै प्रतिबन्ध बिना देशभर सम्पर्क र सम्पर्कविहीन भुक्तानीहरूको लागि काम गर्न जारी राख्नेछ ।’

अन्तरबैंकिङ कारोबार प्रणालीबाट अलग गरिने

रुसी बैंकहरुलाई स्विफ्ट नामक अन्तरबैंकिङ कारोबार प्रणालीबाट अलग गरिने भएको छ । अमेरिका, क्यानडा र बेलायतसमेत आबद्ध पश्चिमा देशहरुको गठबन्धनले रुसी बैंकहरुलाई स्विफ्टबाट अलग गर्ने निर्णय गरेका हुन् । रुसविरुद्ध कडा कदमहरु चालिएको घोषणा गर्दै युरोपेली आयोगकी प्रमुखले उक्त कदमको उद्देश्य राष्ट्रपति पुटिनको युद्धमा लगानी गर्ने क्षमतामाथि प्रहार गर्नु रहेको बताएकी छन् ।

रुसी बैंकहरुलाई स्विफ्टबाट अलग गर्दा उनीहरूका अन्तर्राष्ट्रिय आर्थिक कारोबार वञ्चित हुने र रुसको आयातनिर्यात अवरुद्ध हुने समेत उनले बताएकी छन् । यस्तै रुसी केन्द्रीय बैंकलाई अन्तर्राष्ट्रिय कोषको परिचालनमा बन्देज लगाइने भएको छ ।

रुसी मुद्राको मूल्यमा ३० प्रतिशतले गिरावट

युक्रेन आक्रमणलाई लिएर रुसमाथि पश्चिमेली देशहरुले नयाँ प्रतिबन्ध लगाइरहेका बेला अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा ३० प्रतिशतले गिरावट आएको छ । त्यस्तै, डलरको मूल्यमा एक प्रतिशतले घटेको छ तेलको मूल्यमा बृद्धि भएको छ । देशका बैंक टाट पल्टने त्रास बढिरहेका बेला आइतबार रसियाको केन्द्रीय बैंकले शान्त हुन अनुरोध गरेको छ । बढ्दो तनावले ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिव्यारेल १०० डलरमाथि पुगेको छ ।

युरोपेली युनियन, अमेरिका र उसको गठबन्धनले रुसी बैंकलाई मूख्य अन्तर्राष्ट्रिय भुक्तानी गेटवे स्विफ्टबाट रोक्का गरेको छ । उनीहरुले रुसको केन्द्रीय बैंकमा रहेको सम्पत्ति रोक्का गर्दै देशको विदेशी भण्डारमा पहुँच गर्न सक्ने क्षमतालाई सीमित गरेका छन् ।

‘अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट रुसलाई थप अलग्याउने’ आफूहरुको उद्देश्य रहेको अमेरिकी गठबन्धनको संयुक्त विज्ञप्तिमा भनिएको छ। आफ्नो तेल तथा ग्यास निर्यातका लागि रुस स्विफ्ट प्रणालीमा निर्भर छ ।

रुसी अर्बपतिले ९ दिनमा गुमाए ९० अर्ब डलर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही दिन अघि देशका व्यापारी नेताहरूलाई रुसी प्रशासन केन्द्र क्रेमलिनमा आयोजित एउटा बैठकमा बोलाएका थिए। बैठकमा कम्तिमा १३ अर्बपतिको उपस्थिती थियो ।

‘के भइरहेको छ भन्ने एउटा आवश्यक कदम हो,’ उनले बैठकमा भनेका थिए, ‘हामीसँग अन्यथा गर्ने कुनै मौका छैन।’ वास्तवमा पुटिनले मस्कोले युक्रेनमा हमला गर्दा रुसी अर्बपतिले गुमाउनु पर्ने सम्भावित नोक्सानबारे अप्रत्यक्षरुपमा संकेत गरेका थिए।

पुटिनको हमलाले युक्रेनमा विनाश मात्रै गरेको छैन, यसले विश्वभरका बजारहरूलाई अस्थिर बनाएको छ। यसले उनका आफ्नै सहयोगीको भाग्यमा समेत असर गरेको छ। राष्ट्रपति पुटिनले युक्रेनमा पूर्णमात्रामा आक्रमण गरेपछि देशको शेयर बजार र रुबलमा गिरावट आएसँगै रुसका अर्बपतिहरुको अर्बौं डलर गुमेको छ।

पछिल्लो ९ दिनमा रुसका ११६ अर्बपतिहरुले ९० अर्ब डलर गुमाएको फोब्सको अनुमान छ। त्यो मध्ये ३९ अर्ब डलर एकैदिन स्वाहा भएको थियो। रुसको मोएक्स सूचाकांक ३३% तल झरेपछि र रुबलको मूल्य डलरको तुलनामा निकै गिरावट आएपछि रुसी उद्योगपतिहरुले ठूलो मूल्य चुकाएका हुन्।

प्रतिबन्धहरूको जोखिम अर्बपति कुलीन वर्गको सानो सर्कलभन्दा बाहिर फैलिएको छ। अमेरिका, बेलायत र युरोपेली युनियनलक्षित व्यवसायहरूले रूसी अर्बपतिलाई अझै नोक्सान पुग्ने अनुमान गरिएको छ।

युक्रेनी बैंकहरु पनि समस्यामा

रुस युक्रेन युद्धका कारण युक्रेनी बैंकमा पनि समस्या आएको छ । युक्रेनी बैंकका ग्राहकहरु युद्धकै कारण बैंकिङ सेवा लिन त्रसित भएका छन् ।
युक्रेनको केन्द्रीय बैंकले रूस र बेलारुसका संस्थाहरूलाई भुक्तानी गर्न प्रतिबन्ध लगाएको छ । रुस– युक्रेन युद्धकैबीच युक्रेनी बैंकहरू साइबर आक्रमणबाट प्रभावित भएका छन् ।

युक्रेनका अधिकारीहरूका अनुसार अनलाइनबाटै साइबर आक्रमको चेतावनी दिएको जनाएका छन् । ह्याकरहरूले सरकारी एजेन्सीहरू, बैंकहरू र रक्षा क्षेत्रमा ठूला हमलाहरू शुरु गर्ने चेतावनी दिएका छन् ।  युक्रेनमा साइबर हमलाको मुख्य दोष रुसलाई दिएको छ ।
हाल युक्रेनमा जारी तनाव सबै देशका लागि टाउको दुखाइको विषय बनेको छ । रुसले युक्रेनमा हमला गरेसँगै युक्रेनका ४ करोड ४० लाख मानिस त प्रभावित भएका छन् नै, साथै युरोप र अमेरिकालाई पनि असर परेको छ ।

रुसले युक्रेनविरुद्ध कदम चालेपछि विगतमा सोभियत संघमा आबद्ध पूर्वी युरोपियन मुलुकहरूको सुरक्षामा चुनौती थपिने अनुमान छ । यसले सन् १९८९ पछि विश्वव्यवस्थालाई पुनः परिभाषित गर्दै अमेरिकी दबदबालाई परिवर्तन गर्न सक्ने आँकलन भइरहेको छ।

रुसको कदमले विश्वभर इन्धनको मूल्य बढाएको छ भने सुनको मूल्य पनि उच्च विन्दुमा पुगेको छ । यतिबेला युक्रेनमा आर्थिक संकट चुलिएको छ । २ हप्ताभन्दा बढी समयदेखि हरेकजसो क्षेत्र बन्द रहेसँगै यहाँ आर्थिक संकट चुलिएको हो । बैंक तथा वित्तिय संस्थाहरू बन्द छन् ।

सडकहरू सुनसानप्रायः बनेका छन् । मानिसहरू कसरी ज्यान जोगाउने भन्नेमै केन्द्रित हुनु परेको अवस्था एकातिर छ भने बैंक र वित्तीय संस्थाहरू बन्द रहँदा आर्थिक कारोबारहरू हुन नसकिरहेको अवस्था छ । बाहिरी देशबाट पनि सहयोग हुन सक्ने अवस्था छैन ।

सन् २०२० मा अमेरिकाका राष्ट्रपति रहेका डोनाल्ड ट्रम्पमाथि महाभियोग लाग्नुमा युक्रेन पनि कारक थियो । जसले गर्दा महाभियोग लाग्नुअघि अमेरिकाले युक्रेनलाई दिँदै आएको ३ करोड ९१ लाख अमेरिकी डलरबराबरको सैन्य सहयोग रोक्का गरेका थिए ।

त्यति मात्रै होइन, युक्रेनी राष्ट्रपति भ्लोदिमर एल्नस्कीसँग सम्भावित साँठगाँठको आरोप लगाउँदै उनले जो बाइडेनविरुद्ध अनुसन्धान प्रक्रियासमेत अघि बढाएका थिए। यसको असर पनि अहिले युक्रेनको बैंक तथा वित्तिय क्षेत्रमा परेको छ । युक्रेनीहरू यतिबेला आफ्नो मुलुकको स्वाधीनता र सार्वभौमिकता संकटमा परेको बताउँछन् । उनीहरूले देशको अर्थतन्त्र उठ्नै नसक्ने गरि थला परेको भन्दै यसका लागि विश्वले नै सहयोग गर्नु पर्ने बताइरहेका छन् ।

युक्रेन कमजोर हुनुको कारण

युक्रनेलाई पश्चिमा मुलुकले सैन्यक्षेत्रमा आर्थिक र अन्य सहयोग गरे पनि ऊ नेटोको सदस्य होइन । युक्रेनको सैन्यशक्ति बढाउन पश्चिमाहरूले सयौँ मिलियन अमेरिकी डलर सहयोग गरे पनि रुसी आक्रमणको सशक्त प्रतिरक्षाका निम्ति युक्रेन अझै सक्षम छैन । युक्रेन रुसले मात्रै होइन, रुसनिकट मुलुकले पनि घेरिएको छ । रुसी सैनिक युक्रेनको पश्चिम इलाकामा पनि बाक्लै तैनाथ छन् । युक्रेनको सेना भने निकै पातलो भएकाले प्रतिरक्षाका निम्ति मुस्किल परेको छ ।

रुससँग राम्रै व्यापारिक साझेदारी रहेकाले उसलाई आर्थिक संकट पर्न नदिन जर्मनीले पनि पश्चिमा मुलुकलाई खुलेर सहयोग नगरेको अवस्था छ । यता सिङ्गै युरोप इन्धनका निम्ति रुससँग निर्भर रहेकाले उनीहरू पनि रुसप्रति कडा हुन सकिरहेका छैनन् । जसको असर यतिबेला युक्रेनका बैंक तथा वित्तिय क्षेत्रमा परेको छ ।

अन्न आपूर्तिका निम्ति रुस र युक्रेनले घेरिएको ब्ल्याक सी रुटको प्रयोग हुन्छ । रुस र युक्रेन धेरै गहुँ उत्पादन गर्ने मुलुक हुन् । यो क्षेत्रमा अहिले सैन्य कारबाही भएसँगै खाद्यान्न उत्पादन र वितरण प्रणालीमै असर पुगेको छ । जसको असर विश्वभरकै उपभोक्तामा परेको छ । युरोपमा प्रयोग हुने एकतिहाइ ग्यास रुसबाटै आपूर्ति हुन्छ भने युक्रेनले पनि युरोपमा ग्यास निर्यात गर्दै आएको छ । यी दुई मुलुकबीच युद्ध भएसँगै युरोप र समग्र विश्वले इन्धनको संकट झेल्नु पर्ने अवस्था पनि छ । विश्वभर इन्धनको मूल्य पनि महँगिएको छ ।

युद्धविराम प्रस्तावले पलाएका आशाहरु

तस्बिर : बेलारुसको विदेश मन्त्रालय

रुससँगको उच्चस्तरीय वार्तामा युक्रेनले तत्काल युद्धविरामका लागि प्रस्ताव गरेको छ । रुसी सेनाले युक्रेनमा आक्रमणको गरेको पाँचौं दिन दुई देशबीच बेलारुसको सीमा क्षेत्रमा शान्तिवार्ता शुरु भएको छ ।

वार्ताका क्रममा युक्रेनले युद्धविराम गरी आफ्नो भूमिबाट रुसी सेना फिर्ता हुनुपर्ने माग राखेको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
दुई देशका प्रतिनिधिहरूबीच युद्ध अन्त्य गर्ने विषयमा छलफल सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रुसले चाहिँ ‘दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको’ रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले जनाएका छन् ।

यसरी दुई देशबीचको वार्ता सफल भएमा यहाँका बैैंक वित्तमा देखिएका समस्याहरु र आर्थिक अवस्थामा समेत सुधार आउने अपेक्षा गरिएको छ ।