Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंककाे सहजिकरण: बागलुङ कालिका मन्दिरको भेटी अब सिधैँ बैंकको खातामा

२०७८ फाल्गुन १५ गते

बैंकिङ खबर/ बागलुङ कालिका मन्दिरको भेटी तथा सहयोग रकमलाई बैंकिङ प्रणालीमा व्यवस्थापन गर्नका लागि क्यूआर कोडमार्फत भुक्तानी सुरु भएको छ। प्रभु बैंक बागलुङ शाखाले मन्दिरलाई क्यूआर कोड उपलब्ध गराएको हो।

क्यूआर कोड हस्तान्तरण गर्दै नेपाल बैंकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख डा रामशरण खरेलले नोटको सुरक्षा, भेटी तथा सहयोग रकमको पारदर्शिता र असहज परिस्थितिमा भक्तजनको सहजताका लागि क्यूआर कोड सहयोगी बन्ने बताए।

“देश डिजिटल युगमा प्रवेश गर्ने भनेको छ, अब हामी मन्दिरमा भेटी पनि डिजिटल माध्यमबाट चडाउन सक्छौँ”, उनले भने, “नोटको सुरक्षामा यो प्रविधि निकै उपयुक्त हुनेछ।” मन्दिर र चाडपर्वका बेला नोटको प्रयोग हुँदा भिज्ने, च्यातिने, रङहरू लाग्नेलगायत समस्या हुने गरेको भन्दै उनले नोट छपाइमा लाग्ने राज्यको खर्च जोगाउन प्रविधि सहयोगी बन्ने बताए।

मन्दिर परिसरमा क्यूआर कोड राखिने छ। सबै भक्तजनको पहुँचमा हुने क्यूआर कोड स्क्यान गरेर कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको खातामा भक्तजन तथा दाताले सिधै रकम जम्मा गर्न सक्नेछन्। सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले शनिबार मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरेर कोड हस्तान्तरण गरेको हो।

कार्यक्रममा बोल्दै नेकपा (एमाले) बागलुङका अध्यक्ष हीराबहादुर केसीले पर्यटकीय कालिका मन्दिरलाई प्रविधिमैत्री बनाउन लागेको खुसी व्यक्त गरे। नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले धार्मिक पर्यटनको विकासमा लाग्न सबैलाई आग्रह गरे। नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटी सदस्य कुसुम बुढाले बैंक तथा वित्तीय संस्थाले तल्लो वर्गका नागरिकको पहुँचमा पुगेर काम गर्नुपर्ने बताए।

क्यूआर कोडको सुरुआत गर्दै प्रभु बैंक बागलुङ शाखाले कालिका मन्दिरको लागि पाँच हजार ५५५ र नेपाल बैंकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख डा रामशरण खरेलले एक हजार १११ सहयोग गरेका छन्।

Ad