
बैंकिङ खबर/ देशका ७५३ वटा स्थानीय तहमध्ये ७५० स्थानीय तहमा मात्र वाणिज्य बैंकका शाखा पुगेका छन्। चालु आर्थिक वर्षको पुस मसान्तसम्मको राष्ट्र बैँकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ३ स्थानीय तहमा बैंकिङ पहुँच पुग्न बाँकी छ।
बैंकिङ पहुँच पुग्न बाँकी स्थानीय तह मध्ये गाउँपालिकामा रहेका छन्। गत आर्थिक वर्षको पुससम्म ७४९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए भने यस वर्ष एउटा थपिएकाे छ।
हालसम्म पनि वाणिज्य बैंक नपुगेका स्थानीय तहमा धादिङको रुबिभ्याली गाउँपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिका रहेका छन्।
यस्तै गत आर्थिक वर्षकाे असार मसान्तसम्ममा बैँक तथा वित्तीय संस्थाहरुको शाखा संख्या १० हजार ६८३ रहेको थियो । चालु आर्थिक वर्षकाे पुस मसान्तसम्म बैँक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार २१५ पुगेको पनि राष्ट्र बैँकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या हाल १२९ रहेको छ। जसमा २७ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा वित्त कम्पनी, ६७ वटा लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन्।