February 6th, 2022

‘हिजोका विपन्न दिदीबहिनीलाई आज लघुवित्तले मालिक बनाएको छ’

 

कास्की पोखरामा केन्द्रीय कार्यालय संचालन गरी राष्ट्रिय स्तर कार्यक्षेत्र भएको एक सफल वित्तीय संस्था हो जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था । यस लघुवित्तले हजारौं महिलालाई उद्यमशीलताको बाटोमा लगिसकेको छ । बाढीपहिरो प्रभावितलाई सहयोग होस् वा अन्य विभिन्न सामाजिक कार्यमा यसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । हालै मात्र आइपिओ जारी गरेको लघुवित्तले २८ जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु, ३ वटा संकलन केन्द्रहरु, १४ वटा अनुमगन कार्यालय र २ वटा प्रदेश कार्यालय स्थापना गरी कारोबार गर्दै आएको छ ।

यसैबीच हामीले लघुवित्तले के कसरी काम गर्दै आएको छ । महिलालाई उद्यमशिलतामा लैजान के कस्तो भूमिका खेल्दै आएको छ, लगायतका विषयमा रहेर लघुवित्तकी प्रमुख कार्यकारी अधिकृत विमला योगीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, सिइओ योगीसँग बैंकिङ खबरले गरेको कुराकानीको सम्पादित अंशः

जाल्पा सामुदायिक लघुवित्तले पछिल्ला दिनहरुमा के गरिरहेको छ ?

जाल्पा सामुदायिक लघुवित्तले अहिले ६ वटा प्रदेश र २८ जिल्लामा १०० वटा शाखामार्फत काम गरिरहेको छ । सामाजिक व्यवसायका रुपमा ग्रामिण भेगका महिलाहरुलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर काम गरिरहेको छ ।

लघुवित्त भनेको नाफामुलकभन्दा पनि सेवामुलक रुपमा अघि बढिरहेका संस्थाहरु हुन् । यसैले हामीले घरदैलो लघुवित्तको सेवा दिइरहेका छौं । आफूलाई कसरी जनमुखी बनाउने भनेर लागिरहेका छौं । 

संस्थामा कर्जा परिचालन र पुँजीको अवस्था के कस्तो छ ?

अहिले संस्थाको १६ करोड चुक्तापुँजी छ । त्यसमध्ये ५ करोड २२ लाखको ५ लाख २२ हजार कित्ता आइपिओ जारी गरेका छौं । संस्थाका सम्पूर्ण वित्तीय सूचकहरु सकारात्मक छन् । जम्मा कारोबार ४ अर्ब ६५ करोड छ । जसमध्ये सदस्यहरुको बचत २ अर्ब ३५ करोड छ। हरेक वर्ष संस्था नाफामै छ।

तपाईंको लघुवित्तबाट कर्जा लिएर काम गरिरहेका महिलाहरुको अवस्था कस्तो छ ?

१ लाख बढी महिलाहरु हुनुहुन्छ । ९८ प्रतिशत महिला र बाँकी विदेशबाट फर्किएका युवाहरु हुनुहुन्छ । ६१ प्रतिशत सदस्यहरुले ऋण लिनु भएको छ । उहाँहरुले परम्परागत कृषि प्रणालीमा परिवर्तन गर्दै नयाँ र आधुनिक किसिमका व्यवसायहरु संचालन गरिरहनु भएको छ ।

उहाँहरुले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणको व्यवस्थासमेत हामीले गरिरहेका छौं । जसले विपन्न परिवारलाई निकै टेवा पुगेको छ । ५५१ जना स्थानीय युवाहरु पनि हामीसँग जोडिएर काम गरिरहनु भएको छ । अहिले कोरोनाले समस्या पारिरहेको अवस्थामा पनि हामीले के गर्न सकिन्छ भनेर सक्दो सहयोग गरिरहेका छौं ।

संस्थालाई सेवामुखीरुपमा अघि बढाइरहेका छौं। ग्रामिण भेगमा रहेका आर्थिकरुपमा कमजोर परिवारलाई घरघरमा रोजगारी प्रदान गर्न हामी सक्रिय छौं । बंगलादेशी मोडलमा संस्थालाई अघि बढाउने प्रयास गरिरहेका छौं ।

बंगलादेशी मोडलमा काम गरिरहेको भन्नुभयो, संस्थाले त्यस्तो के काम गरिरहेको छ ?

खासमा लघुवित्त कार्यक्रमको शुरुवात नै बंगलादेशबाट भएको मानिन्छ । ५-१० जना महिलाहरुलाई एकठाउँमा जम्मा पारेर काम गर्ने, समाजमा रहेका गलत प्रवित्तीहरुलाई परिवर्तन गराउने कार्यक्रम त्यतिबेला नै शुरु भएका थिए । खासमा समाजमा अहिले पनि छुत अछुतको व्यवहार छ ।

दलितमाथिको भेदभाव कायमै छ, यो राम्रो होइन । जसले जे उत्पादन गर्न सक्छ, त्यो सबैका लागि प्रेरणाको विषय हुन सक्छ र भेदभाव गर्नु हुँदैन भन्ने जनमुखी कामको शुरुवात गरिने अवस्थालाई लघुवित्तको भाषामा बंगलादेशी मोडल भनिन्छ । हाम्रो संस्थाले यस्ता काममा आफूलाई सक्रिय बनाउँदै लगेको छ ।

बिना धितो सामुहिक जमानीको आधारमा ऋण प्रदान गरिन्छ, खासमा बंगलादेशी मोडल भनेको यही नै हो । लघुवित्तहरुले महिलाहरुको सामाजिक उत्थानमा आफूलाई लगाउन सक्नुपर्छ ।

कोरोनाले तपाईंको यस संस्थामा कस्तो असर गरेको छ ?

हामी भनेको घ वर्गको वित्तीय संस्था हौं । यसर्थ हामीले वाणिज्य बैंकहरुबाट ऋण लिएर महिलाहरुमा लगानी गर्ने कार्यक्रम अहिले पनि अघि सारिरहेका छौं । कोरोनाले समस्या त पारेको हो, तैपनि हामीले विपन्न वर्गको अभिभावक बनेर काम गर्नु पर्छ भनेर नआत्तिकन महँगोमै ऋण लिएर भएपनि गाउँ केन्द्रीत कार्यक्रम कहिले पनि रोकेनौं । हाम्रा दिदीबहिनीहरुको बचत पनि थियो, त्यसले पनि हामीले काम गर्यौं ।

यो समयमा प्रशासनिक खर्चलाई कटौती गरेर भए पनि महिलाहरुलाई सेवा गरिरह्यौं । संस्थालाई गरिब परिवारको सहयोगी बनेर कसरी अघि बढाउने भन्नेमै हामी केन्द्रीत बन्यौं । अब यो समस्या देशको मात्र नभएर विश्वकै समस्या हो । विस्तारै समाधान होला भन्ने आशा गरौं ।

लघुवित्तहरुलाई पछिल्लो समय राष्ट्र बैंक र अर्थ मन्त्रालयको नितीमा खासै महत्व दिइएको पाईंदैन, यसमा तपाईं के भन्नु हुन्छ ?

यो एकदमै दुःखद् कुरा हो । खासमा राज्यको ध्यान गरिव वर्गमा जानु पर्ने हो । जागिरेभन्दा पनि महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउनु पर्छ, आर्थिक रुपमा कमजोर भएका वर्गलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ ।

ग्रामिण भेगमा जब सरकार पुग्दैन देश कसरी समृद्ध बन्छ र?ग्रामिण विकासको जग जब बलियो बन्न सक्दैन, तबसम्म देशको अर्थतन्त्र पनि बलियो बन्न सक्दैन। ठूला व्यापारिक संस्थाले गाउँका समस्या बुझ्न सक्दैनन् । ठूला बैंकहरुले गाउँ केन्द्रीत कार्यक्रमहरु अघि बढाउन सक्दैनन् । यस्तो बेलामा लघुवित्तको महत्वपूर्ण भूमिका रहन्छ ।

अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने बंगलादेशमा यस्तो समस्यामा रहेका महिलाहरुको सम्पूर्ण जिम्मा सरकारले एकद्वार प्रणालीबाट कार्यक्रम संचालन गरेर ध्यान पुर्याइरहेको छ । खासमा हुनु पर्ने नै यही हो । राज्यले यस्तो विषयमा ध्यान दिनै पर्छ । स्थानीय तहहरु लघुवित्तसँग समन्वय गरेर अघि बढ्नु पर्छ। जुन ठाउँमा राज्यको उपस्थिती नै छैन, हामी ती ठाउँमा पुगेर काम गरिरहेका छौं । देशको गरिबी निवारणको अभियानमा लघुवित्तहरुले महत्वपूर्ण रुपमा काम गरिरहेका छन् । गाउँ गाउँमा पुगेर हामीले जुन काम गरिरहेका छौं, यसलाई सरकारले वास्ता नगर्ने हो भने जति ठूला कार्यक्रम ल्याए पनि केही हुँदैन ।

हामी जस्ता लघुवित्तहरुलाई त सरकारले प्रोत्साहन गर्नु पर्छ, हातेमालो गरेर सँगै अघि बढ्नु पर्छ । राज्यले अनुदान दिनु पर्छ, अनि मात्र देशको आर्थिक उन्नती हुन सक्छ । लघुवित्तहरु धरासाही बने भने देश नै धरासाही बन्छ भन्ने सरकारले सोच्नु पर्छ । आज काम गर्ने सोच भएका तर पुँजी नभएका महिलाहरुलाई राज्यले सहयोग किन नगर्ने? विपन्न वर्ग पनि राज्यका नागरिक हुन् नि । उनीहरुलाई माथि उकास्न राज्य जिम्मेवार बन्नु पर्छ ।

लघुवित्तहरुमा प्रविधिको प्रयोग कसरी भइरहेको छ ?

संस्थागतरुपमा हामीले सफ्टवेयरमै काम गरिरहेका छौं । यसका अतिरिक्त उत्पादनका क्षेत्रमा पनि प्रविधिको प्रयोगमा जोड दिइरहेका छौं । गाउँमा पुरानो प्रविधिले काम गर्दा उत्पादन कम हुने हुँदा हलो प्रणालीलाई परिवर्तन गर्दै हातेट्याक्टरहरु वितरणमा जोड दिइरहेका छौं ।

गाईपालन फार्महरुमा स्वस्थ दुध उत्पादनमा नयाँ प्रविधि अपनाउन पनि सहयोग गरिरहेका छौं । यससँगै मोबाइल एसएमएस सेवा पनि शुरु गरेका छौं । समय अनुसार प्रविधिमा संस्थालाई रुपान्तरण गर्ने काममा हामी सक्रिय छौं ।

नेपालको अवस्थामा लघुवित्तको महत्वलाई कसरी हेर्नुभएको छ ?

समग्ररुपमा लघुवित्तहरुले सकारात्मक भूमिका निभाइरहेका छन् । महिलाहरुको नेतृत्वमा परिवर्तन गर्न पनि लघुवित्तहरुले ठूलो भूमिका खेलेका छन् । हिजो हामीसँग काम नगर्दासम्म राम्ररी बोल्न पनि लाज मान्ने महिलाहरु अहिले स्थानीय तहका उपमेयर, महिला सदस्य बनेका छन् ।

गाउँमा सामाजिक, आर्थिक, शैक्षिक, उद्यमशिलता लगायत हरेक क्षेत्रमा महिलाहरुको उत्थान गर्ने काम लघुवित्तहरुले गरिरहेका छन् । रोजगार प्रवद्र्धनमा पनि यस्ता संस्थाले निकै राम्रो रोल खेलिरहेका छन् । यसैले पनि नेपालको सन्दर्भमा लघुवित्तहरुको महत्व निकै नै छ ।

भर्खरै आइपिओ जारी गर्नु भएको छ, लगानीकर्ताहरुले के कस्तो नाफा पाउँछन् ?

जाल्पा सामूदायिक लघुवित्त अहिले हरेक वित्तिय सूचकांकहरुमा राम्रो छ । संस्थाको नाफा राम्रो छ । ०५० सालदेखि नै यो संस्थाले काम गरिरहेको छ ।

एक वर्ष पहिले पोखराको सृजना विकास केन्द्रले प्रवद्र्धन गरेको जाल्पा लघुवित्त वित्तिय संस्था र दाङको नेपाल महिला सामुदायिक सेवा केन्द्रले प्रवद्र्धन गरेको जाल्पा महिला सामुदायिक वित्तिय संस्था मर्ज भएर अहिलेको जाल्पा सामुदायिक वित्तिय संस्था बनेको हो । लगानीकर्ताहरुले ढुक्क भएर लगानी गर्न सक्नु हुन्छ । लघुवित्तहरुले दिने फाइदाहरु उहाँहरुले पाउनु हुन्छ । उहाँहरुलाई आत्मसन्तुष्टि पनि पक्कै हुन्छ भन्ने लाग्छ ।