
बैंकिङ खबर/ नेपालमा यो साता कोरोनाको संक्रमणको त्राससँगै बैंक तथा वित्तीय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । राष्ट्र बैंकको निर्देशन जारी, नेप्सेमा नयाँ सिइओ, पक्राउ लगायत थुप्रै घटना एवम् गतिविधिहरु भएका छन् । समग्रमा, साताको सुरुवातदेखि बैंक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु तल प्रस्तुत गरिएको छ :
राष्ट्र बैंकको विकास बैंक र फाइनान्स कम्पनी विभाग गाभियो, गैरबैंक वित्तीय संस्था विभाग थप

नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण विभागलार्य आपसमा गाभेको छ । गाभिएपछि नयाँ विभागको नाम ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’ राखिने भएको छ । गभर्नर अध्यक्ष हुने व्यवस्थापन समितिको कात्तिक ११ गतेको बैठकले यी दुई विभाग गाभ्ने निर्णय गरेको थियो । गाभिएको विभागले फागुन १ गतेबाट एकीकृत भएर काम गर्ने राष्ट्र बैंकले जनाएको छ ।
अहिले राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकमा प्रदीपराज पौडेल छन् भने फाइनान्स कम्पनी सुपरिवेक्षण विभागमा पिताम्बर भण्डारी छन् । नयाँ विभागको जिम्मेवारी बिहीबारसम्म कसैलाई पनि तोकिएको छैन । यस्तै राष्ट्र बैंकले ‘गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग’ थप गरेको छ । यसको प्रमुखको जिम्मेवारी अहिलेलाई वीरेन्द्रदत्त अवस्थीलाई दिइएको छ । उनी अहिले बैंकिङ विभागको निर्देशक छन् । नयाँ विभागले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, एचआईडीसीएलजस्ता संस्थाहरुको सुपरिवेक्षण गर्ने राष्ट्र बैंकले जनाएको छ ।
विद्युतीय माध्यमबाट कारोबार गर्दा ७ बुँदामा विशेष ध्यान दिन राष्ट्र बैंकको अनुरोध !
नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । बैंकले विभिन्न ७ सुझाव दिँदै प्रयोगकर्तामा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । सम्भावित जोखिमबाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउन केन्द्रीय बैंक ७ बुँदे सुझाव दिएको छ।
बैंकमा ठूलो कारोबार गर्नेलाई राष्ट्र बैंकको निगरानी !
नेपाल राष्ट्र बैंकले बैंकमा ठूलो कारोबार गर्नेहरुलाई निगरानीमा राख्न थालेकाे छ । कारोबारको स्रोत पहिचानका लागि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिने कारोबारको सुपरिवेक्षण गर्न लागेको हो । जसअन्तर्गत वाणिज्य बैंकहरुलाई केन्द्रीय बैंकले बुधबार पत्रमार्फत जानकारी मागिसकेको छ ।
नेपाल राष्ट्र बैंकले एक पटकमा ७ लाखभन्दा बढी कारोबार हुनेहरुको सम्पत्ति स्रोतबारे २७ वटै बैंकहरुलाई जानकारी दिन भनेको छ । खासगरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको लागि यो अध्ययन गर्नुपरेको उसको भनाइ छ ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले यसअघि पनि स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आएको छ । बुधबार बैंकहरुलाई पठाएको पत्रमा भनिएको छ, ‘बैंकबाट साउन १ देखि पुस ३० गतेसम्म भएको कारोबार उपलब्ध गराउनुहुन अनुरोध छ ।’
नेप्सेले पायो नयाँ सीईओ

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेप्सेको सीईओ बनाउने निर्णय लिएको अर्थमन्त्रालयले जनाएको छ। छनोट समितिले यस अघि तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) गरेर मन्त्रिपरिषद्मा पठाएको थियो ।
यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । पाँचमध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो । नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए ।
यसैबीच गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष घिमिरे नियुक्त भएका छन् । उनी एक वर्षदेखि फाइनान्सको महाप्रवन्धक रहेर काम गरेका थिए । सञ्चालक समितिको मंगलबार बसेको बैठकले उनलाई सिइओ नियुक्त गरेको हो । नियुक्त भएका घिमिरेले बिहीबारबाटै जिम्मेवारी सम्हालेका छन् ।
खुल्न थाल्यो आईपीओ

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारदेखि ५ करोड २२ लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । जसमध्ये जारीपुँजीको ०.५ प्रतिशतले हुन आउने ८ हजार कित्ता कर्मचारीका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशतले हुन आउने २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणका आवेदन दिन पाउनेछन् ।
यो आईपीओ लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २०० कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ । यो आईपीओको निष्कासन बन्द छिटोमा माघ २५ गते हुने कम्पनीले जनाएको छ । यो लगतै २ कम्पनीको आइपिओ खुल्ने छ भने ३ कम्पनी लाइनमा छन् ।
२१ जना एकैपटक वरिष्ठ प्रबन्धकमा बढुवा

सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक २१ जनालाई वरिष्ठ प्रबन्धकमा बढुवा सिफारिस गरेको छ।
कार्यसम्पादन मूल्यांकन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता अनुसार प्रशासनतर्फ १७, सुप्रतर्फ २ र कानुन-लेखामा १/१ जनालाई बढुवा सिफारिस गरेको हो।
साईनिङ् स्टार सहकारीको रकम हिनामिना गर्ने पञ्चमान पक्राउ

काठमाडौंको साईनिङ् स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रकम हिनामिनामा दोषी सावित काठमाडौं–१५ का ४८ वर्षीय पञ्चमान महर्जन पक्राउ परेका छन्।
उक्त को–अपरेटिभमा जम्मा गरेको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार ४७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो आर्थिक लाभ हुने ऋण प्रवाह तथा असुली गर्दा ठगी गरेको आरोपमा दोषी सावित गर्दै १९ असार २०७३ मा काठमाडौं जिल्ला अदालतले संस्थाका लेखा समिति संयोजक महर्जनलाई ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।
तर, फरार रहँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २० माघमा स्वयम्भुबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार फैसला कार्यान्वयनको लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ।