२०७३ भाद्र २३ गते

कर्मचारीको क्षमता अभिवृद्धिमा ‘एनएमबि माइक्रोफाइनान्स’ : शुरु गर्यो तीन दिने तालिम

nmbएनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले नयाँ फिल्ड कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले इमता अभिवृद्धि तालिम सुरु गरेको छ । उक्त तालिमको उद्घाटन पोखराको पृथ्वीचोक स्थित होटल दिपमालामा प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले बिहीवार गरे ।
 
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत कोनाजोले लघुवित्तको क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा आवश्यक ज्ञान, सीप र दक्षता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको बताए । तालिम गोष्ठी कुनै पनि ब्यक्तिको वृत्ति विकासको महत्वपुर्ण औजार भएकाले हरेक कर्मचारीलाई समय सापेक्ष तालिम आवश्यक रहेको बताए । त्यसै गरी हरेक कर्मचारीहरुमा सकारात्मक सोचाई हुनुपर्ने र कर्मचारीहरु ग्रामीण क्षेत्रको विपन्नवर्ग, समुदायमा काम गर्नुपर्ने भएकाले सो क्षेत्रको वातावरण वुझि ठाउँ अनुसार सम्मानजनक ब्यवहार गर्नुपर्ने कुरामा जोड दिए । 

३ दिनसम्म संचालन हुने सो तालिममा वित्तीय संस्थाको परिचय, नेपालमा लघुवित्तको वर्तमान अवस्था, लघुवित्तको फिल्डमा काम गर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरु र ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश, पुर्वतालिम संचालन प्रक्रियाहरुका बारेमा केन्द्रित रहने जानकारी गराइयो । कार्यक्रममा नेपाल अधिराज्यभरका ४५ जना नयाँ कर्मचारीहरुका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।