साताको अन्तिम दिन पनि सेयर बजार घटेरै बन्द भएको छ । नेप्से परिसूचक १.७८ अंकले घटेर १८२३.०५ अंकमा कायम भएको छ भने कारोबार रकम पनि १५ करोड रुपैयाँ घटेको छ । बुधबार चार घण्टाको कारोबार अवधिमा एक सय ५२ वटा कम्पनीको २१ लाख ४३ हजार पाँच सय ४६ कित्ता सेयर छ हजार पाँच सय २४ पटक खरिदविक्रि हुँदा कुल एक अर्ब ५० करोड तीन लाख २६ हजार चार सय ९६ रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । बुधबार एक अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो ।
बैंकिङ, फाइनान्स र अन्य समूहले विहीबारको सेयर बजार घटाएका छन् । बैंकिङ ५.७९ अंकले घट्दा फाइनान्स र अन्य क्रमशः ७.९ र ७.८१ अंकले घटेका छन् । होटल समूह सबैभन्दा धेरै ५१.७१ अंकले बढेको छ भने जलविद्युत् ४८.२९ र बीमा ३६.२३ अंकले बढेका छन् । विकास बैंक १.६५ अंकले घटेको छ ।
कारोबार रकमका आधारमा विहीबार लुम्बिनी जेनेरल इन्स्योरेन्स अगाडी छ, जसको १३ करोड ४७ लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । सनराइज बैंकको १० करोड १५ लाख रुपैयाँको सेयर कारोबार हुँदा एभरेष्ट बैंकको आठ करोड ३९ लाख, एनबी बैंकको छ करोड ३६ लाख र प्रभु इन्स्योरेन्सको पाँच करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, चिलिमे हाइड्रोपावरको साढे ४ करोडभन्दा बढीको कारोबार हुँदा हिमालयन जेनेरल इन्स्योरेन्सको पनि ४ करोडमाथिको कारोबार भएको छ । नविल बैंक, लक्ष्मी लघुवित्त, सिद्धार्थ डेभलपमेन्ट बैंक लगायतको तीन करोडमाथिको सेयर कारोबार भएको छ ।
एभरेष्ट इन्स्योरेन्स, त्रिवेणी विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सका लगानीकर्ताले छ प्रतिशतभन्दा बढीका दरले आफ्नो सम्पत्ति बढाएका छन् । मेरो माइक्रोफाइनान्स, नेशनल हाइड्रोपावर, चिलिमे हाइड्रोपावर र एनबी इन्स्योरेन्सका लगानीकर्ताले चार प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । एभरेष्ट बैंक (सीपी), नयाँ नेपाल लघुवित्त, लुम्बिनी फाइनान्स लगायतका लगानीकर्ताले तीन प्रतिशतभन्दा बढीले कमाएका छन् ।
७३ वटा कम्पनीले अधिकतम ७.६० प्रतिशतदेखि न्युनतम ०.१५ प्रतिशतसम्म गुमाएका छन् । सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीका प्रोमोटर सेयरधनीले गुमाएका छन् भने सबैभन्दा कम गुमाउनेमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ५.६२ प्रतिशतले गुमाएका छन् । नेपाल लाइफ इन्स्योरेन्स प्रोमोटर, ललितपूर फाइनान्स, कसमस डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताले पनि गुमाएका छन् ।