नवराज कुँवर – नेपाल बैंक लिमिटेड नेपालकै जेठो बैंक हो । यो बैंक स्थापना देखि नै सरकारी तथा निजी क्षेत्रको संयुक्त लगानीमा संचालन भएको थियो । बैंकको स्थापना वि.सं. १९९४ कार्तिक २० गते भएको हो । यही बैंकको स्थापनासंगै नेपालमा औपचारिक रुपमा बैंकको प्रादुर्भाव भएको थियो । त्यसबेलासम्म सम्पूर्ण मौद्रिक कारोबारहरु निजी डिलर तथा व्यापारिक केन्द्रहरुबाट हुने गर्दथ्यो ।
स्थापनाकालको समस्या
तत्कालीन समयमा यस औपचारिक बैंकिङ्ग नयाँ अवधारणालाई धेरै कमले मात्र बुझेका थिए भने एकदमै कम मात्र यसप्रति विश्वस्त थिए । जति हकप्रद शेयर उठाउनु सजिलो थिएन, त्यति नै निक्षेप परिचालन गर्नु पनि गाह्रो थियो । जसको परिणामस्वरुप, बैंकले २५ लाख रुपैयाँ मुल्यको हकप्रद शेयर निष्काशन गरेकोमा ८ लाख ४२ हजार रुपैयाँ मात्र उठाउन सफल भएको थियो ।
जम्मा १० जना शेयरधनी
बैंक स्थापनाको प्रथम बर्ष कुल निक्षेप १७ लाख दुई हजार २५ रुपैयाँ रहेकोमा चल्ती निक्षेप करिब १२ लाख ९८ हजार आठ सय ९८ रुपैयाँ मुद्दती निक्षेप तीन लाख ८८ हजार नौ सय ६४ रुपैयाँ तथा वचत निक्षेप १४ हजार एक सय ६३ रुपैयाँ रहेको थियो । प्रथम बर्षको अन्तमा, कर्जा प्रवाह तथा वक्यौता गरि जम्मा १९ लाख ८५ हजार रुपैयाँ रहेको थियो । बैंक संचालनको शुरुमा केवल १० जना शेयरधनीहरु मात्र रहेका थिए ।
नेपाल बैंकको ‘संकटकाल’
स्थापनाको केही वर्षदेखि नेपाल बैंकले थुप्रै संकटको सामना गरेको छ । अति नै संकटग्रस्त भएर कुनै बेला नेपाल बैंक बन्द हुने अवस्थामा पुगेपछि नेपाल राष्ट्र बैंकले जोगाएको थियो । बैंकले आफ्नो स्थापना कालमा कर्जा चुक्ता नहुने तथा नाफा आर्जन गर्न नसक्ने जस्ता कठिनाईहरुको सामना गरेको थियो ।
विदेशीसहितको व्यवस्थापन
के.पि.एम.जी.ले गरेको बैंकको डाईग्नोष्टिक पुनरावलोकनमा बैंकमा पूर्ण पुर्नसंरचनाको आवश्यकता रहेको बताएपछि विश्व बैंकसंगको सुझाव सल्लाह तथा सहमतिमा नेपाल सरकार यस बैंकको पुर्नसंरचनाको लागि अघि बढ्यो र लाभदायिकतातर्फ सुधारोन्मुख तुल्यायो । यस बैंकलाई नेपाल राष्ट्र बैंकको नियन्त्रणमा राखी ‘द बैंक अफ स्कटल्याण्ड (आयरल्याण्ड) लिमिटेड आइसीसी कन्सल्टिङ’को सेवा बैंकको व्यवस्थापन सम्हाल्न २२ जुलाई २००२ देखि कार्यान्वयन हुने गरी दुई वर्षको लागि करारमा लियो । त्यसपछि उक्त करार अर्को एक वर्षको लागि नविकरण गरियो र जुलाई २००७ सम्मको लागि अवधि बढाईयो । कन्सल्टेन्टको समूहमा स्वदेशी तथा विदेशीहरुको मिश्रित सहभागिता रहेको थियो ।
आजभन्दा झण्डै १४ वर्षअघि विश्व बैंकको सहयोगमा संचालित वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तरगत अरबौं रुपैयाँ बराबरको खराव कर्जा उठाउन नसकेर घाटामा गएको ४० प्रतिशत सरकारी लगानी रहेको नेपाल बैंक लिमिटेडको व्यवस्थापन विदेशी कम्पनीलाई जिम्मा लगाउने निर्णय सरकारले गरेको थियो । एकजना अमेरिकी बैंकरले नेतृत्व गरेको नेपाल बैंक लिमिटेडको व्यवस्थापनले तीन वर्ष पूरा गरी पुन थप दुई वर्ष करार बढाउन सरकारसँग कुराकानी भैरहेको बेला पनि कर्मचारी विभिन्न ५५ सुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका थिए ।
नेपाल बैंक लिमिटेडमा कर्मचारी आन्दोलनको श्रृंखला
बैंकमा हाल नेपाल बैङ्क राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल बैंक कर्मचारी संघ, वित्तीय संस्था कर्मचारी सङ्घ र नेपाल बैङ्क कर्मचारी युनियन गरी पाँच युनियन क्रियाशील छन् । सरकारी स्वामित्वमै रहेको नेपाल बंैकमा कार्यरत संगठित कर्मचारीहरुले बेलाबेला बैंकलाई नै अप्ठेरो पर्ने गरी आन्दोलन चर्काउँछन् । तर यस बैंकमा कर्मचारीले गरेको आन्दोलनबारे त्यति धेरै कुरा बाहिर आउँदैन । बैंकको सञ्चालक समितिको चातुर्यताका कारण पनि त्यति धेरै कुरा बाहिर आउन नपाएको हो । उनीहरु आन्दोलनमा उत्रिएका कर्मचारीहरुसंग बिलम्ब नगरी वार्ता गर्ने र आश्वासन दिएरै भएपनि आन्दोलनरत कर्मचारीलाई मनाउँने गर्छन् ।
नेपाल बैंकका तत्कालीन दश जना कर्मचारीहरू निलम्बन गरेपछि व्यवस्थापनको कार्य मानव अधिकार तथा ट्रेड यूनियन अधिकारको खिलाप रहेको भन्दै कर्मचारीहरुले आन्दोलन गरेका थिए । त्यतिबेला ६८ वर्ष पूरानो नेपाल बैंक लिममिटेडका देशभरिको झण्डै ६० जिल्लामा १०० भन्दा बढी शाखाहरू थिए । उक्त कर्मचारी आन्दोलनले नेपाल बैंक लिमिटेडलाई निकै असर पुर्याएको थियो ।
यस बैंकका कर्मचारी अघिल्लो वर्षको साउनमा पनि आवश्यक सेवा सुविधा कम भएको भन्दै आन्दोलित भएका थिए । २०७० सालमा विभिन्न पाँच बुँदे माग राखेका कर्मचारीहरुको मागको बैंक व्यवस्थापन पक्षले सुनुवाई नगरेको भन्दै आन्दोलित भएका थिए । यो पटक फेरी विभिन्न माग राख्दै कर्मचारीहरुले धर्ना दिइरहेका छन् । यो क्रम करिब एक हप्तादेखि जारी छ । विगतमा व्यवस्थापनसँग भएका सहमतिहरु कार्यान्वयनको माग राख्दै भदौ १४ गतेदेखि बैंकका कर्मचारी बिहान १० बजेदेखि १ बजेसम्म बैङ्कको प्राङ्गणमा धर्ना बस्दै आएका छन् । बैङ्कको आधिकारिक कर्मचारी युनियन र बैङ्क व्यवस्थापनबीच गत २०७० फागुन २ गते भएको सम्झौता कार्यान्वयन नभएसम्म आन्दोलन नरोक्ने नेपाल उनीहरुले चेतावनी दिँदै आएका छन् । व्यवस्थापनले पनि सकेसम्म थमथमाउने प्रयास गरेको थियो । तर प्रक्रिया लम्बिएपछि कर्मचारीहरु धर्नामा जान बाध्य भएको बताउँछन् ।
के सहमति भएको थियो २०७० सालमा ?
आधिकारिक कर्मचारी संगठनका उपाध्यक्ष टेकबहादुर खड्काका अनुसार २०७० सालमा कर्मचारी र व्यवस्थापनबीच करारमा रहेका कर्मचारीलाई अवकाससहितको सेवासुविधा प्रदान गर्ने, कर्मचारीको उपदान वृद्धि गर्ने, कर्मचारीको शिशु स्याहार भत्ता मासिक एक हजार रुपैयाँ प्रदान गर्ने, कर्मचारीको पोसाक भत्ता वार्षिक चार हजार रुपैयाँले वृद्धि गर्ने लगायतका सम्झौता भएका थिए ।
नेपाल बैंकमा २६ सय कर्मचारी
हाल नेपाल बैङ्क लिमिटेड केन्द्रीय कार्यालयमा दुई हजार ६ सय कर्मचारी रहेकामा करार सेवामा मात्र छ सय कर्मचारी रहेको बैङ्कले जनाएको छ । कर्मचारीहरुले आफ्ना मागबारे व्यवस्थापनले गम्भीरता नदेखाए शाखा कार्यालयका कर्मचारीहरुलाई समेत आन्दोलनमा उतार्ने चेतावनी दिँदै आएका छन् । सरकारी स्वामित्वमा रहेको नेपाल बैङ्क लिमिटेडको देशभर एक सय २६ वटा शाखा रहेका छन् । विगतमा पनि कर्मचारी आन्दोलनको चपेटाबाट निकै धरासायी बनेको नेपाल बैंक पछिल्लो समय भने मजबुत बैंकको रुपमा स्थापित भएको छ ।