
बैंकिङ खबर/ नेपाल बंगलादेश (एनबी) बैंकको विवादमा परेको प्रवर्द्धक सेयर खरिद–बिक्री प्रक्रिया तत्काललाई रोकिएको छ। जिल्ला अदालत काठमाडौंले एनबी बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको करिब ४२ प्रतिशत सेयर तत्कालका लागि बिक्री नगर्न आदेश दिएपछि उक्त प्रक्रिया तत्कालका लागि रोकिएको हो।
न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले मंगलबार नै आईएफआईसी बैंकको सेयर खरिद–बिक्री रोक्न आदेश दिएका थिए तर लिखित आदेश भने बुधबार आएको हाे। सनराइज बैंक सञ्चालक समिति अध्यक्ष व्यवसायी मोतिलाल दुगडले काठमाडौं जिल्ला अदालतमा २० चैत २०७७ मा आईएफआईसीसँग एनबी बैंकको संस्थापक सेयर खरिदका लागि सम्झौता गरिसकेको भए पनि उक्त सम्झौताविपरीत चौधरी समूहलाई सेयर बिक्री गरिएको भन्दै मुद्दा दायर गरेका थिए। दुगडको निवेदनको सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंले विपक्षीहरुबाट ७ दिनभित्रमा लिखित जवाफ माग गर्न आदेश दिएको छ।
आदेशमा लिखित जवाफ नआउँदासम्म सेयर बिक्री नगर्न पनि भनिएको छ। बंगलादेशको आईएफआईसीले बिक्री गर्न लागेको एनबी बैंकको संस्थापक सेयर खरिदमा विवाद भएपछि व्यवसायी कानुनी लडाइँमा पुगेका हुन्। दुगडको समन्वयमा व्यवसायीको समूहले सेयर खरिदका लागि आईएफआईसीसँग इच्छापत्रमा हस्ताक्षर गरिसकेको दाबी गर्दै सनराइज बैंकका अध्यक्ष दुगड अदालत गएका थिए। सो इच्छापत्र अनुसार आईएफआईसीले एनबी बैंकमा रहेको आफ्नो प्रवर्द्धक सेयर प्रतिकित्ता १ सय ५७ रुपैयाँमा बिक्री गर्न सहमत भएको थियो।
इच्छापत्रको मूल्यका आधारमा आईएफआईसीले एनबी बैंकमा रहेको प्रवर्द्धक सेयर दुगड समूहलाई ६ अर्ब रुपैयाँमा बेच्ने इच्छापत्रमा २० चैतमा नै हस्ताक्षर भइसकेको दाबी छ। दुगड समूहले इच्छापत्रमा हस्ताक्षर गरिसकेको जानकारी नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयमा पनि दिइसकेको जनाएको छ। यसै दाबीका आधारमा आईएफआईसीले सम्झौता नमानेको भन्दै उक्त कार्य गैरकानुनी भएकोले दुगड समूहले पाटन उच्च अदालतमा २१ पुसमा बंगलादेशको आईएफआईसी बैंकसहितलाई विपक्षी बनाएर दुईवटा रिट हालेको थियो। सो रिटमध्ये एउटामा निषेधाज्ञा माग गरिएको छ भने अर्काेमा परमादेश माग गरिएको छ।
